२०८३ जेष्ठ ११ गते सोमबार

हरि खेतान क्याम्पसलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको आरोप, समुदायमै कायम राख्न नागरिक समाजको जोड

अभिलाष गुप्ता
वीरगञ्ज, १० जेठ

हरि खेतान बहुमुखी क्याम्पस लाई निजीकरणतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै क्याम्पस प्रमुख किशोरी राय यादवले विभिन्न निजी कलेज सञ्चालकहरूको इशारामा क्याम्पसलाई योजनाबद्ध रूपमा बदनाम गराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

शनिबार जिल्ला समन्वय समिति पर्सामा नागरिक समाजको अगुवाइमा आयोजित बैठकमा बोल्दै उनले हरि खेतान क्याम्पस समुदायको सम्पत्ति भएकाले कुनै पनि हालतमा निजीकरण हुन नसक्ने स्पष्ट पारे। विद्यार्थी भर्नाको समय नजिकिँदा विभिन्न बहाना र विवाद सिर्जना गरेर क्याम्पसको छवि धुमिल पार्ने प्रयास भइरहेको उनको भनाइ थियो।

बैठकमा पूर्व सांसद विचारी यादव, क्याम्पसका पूर्व प्रमुख डा. भगवान यादव, नेपाल बार एसोसिएसन पर्सा का अध्यक्ष रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एमाले का सुन्दर कुर्मी, सुशील भट्टराईलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पसको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई समुदायमै आधारित शैक्षिक संस्थाका रूपमा जोगाउनुपर्ने धारणा राखेका थिए।

क्याम्पस प्रमुख यादवले तीन दशकभन्दा बढी समय क्याम्पसको नेतृत्व गरेका पूर्व प्रमुख डा. भगवान यादवमाथि पनि गम्भीर आरोप लगाएका छन्। उनले आफ्नो कार्यकालभरि क्याम्पसलाई सीमित समूहको नियन्त्रणमा राख्दै समुदायका विशिष्ट व्यक्तिहरूलाई सञ्चालक समितिमा आउन नदिएको आरोप लगाए। साथै, आफन्त र नातागोताका व्यक्तिहरूलाई भर्ती गर्ने केन्द्रका रूपमा क्याम्पस प्रयोग गरिएको उनको दाबी थियो।

यादवका अनुसार दाता परिवारलाई प्रभावमा पारेर २०८० साल असोज १९ गते विधान संशोधन गरिएको थियो र हाल क्याम्पस सोही विधानअनुसार सञ्चालन भइरहेको छ। उनले सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा नागरिक समाजबीच जुनसुकै सार्वजनिक बहसका लागि आफू तयार रहेको समेत बताए।

उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दा आलोचना गर्ने व्यक्तिहरू नै अहिले क्याम्पसविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाए। “यो गरिब जनताका छोरा–छोरी पढ्ने क्याम्पस हो, यसलाई शिक्षा माफियाको चंगुलमा पर्न दिनुहुँदैन,” उनले भने।

क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश खेतान ले पनि क्याम्पसको शैक्षिक वातावरण सुदृढ बनाउन वीरगञ्जका नागरिकहरूको साझा जिम्मेवारी रहेको बताए। उनले नागरिक समाजका नाममा हुने रचनात्मक गतिविधिमा सञ्चालक समितिको पूर्ण सहयोग रहने उल्लेख गर्दै विगतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लागेकाहरूबाट नागरिक समाज सतर्क रहनुपर्ने धारणा व्यक्त गरे।

यसैबीच, वैशाख ३१ गते क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो दलेको आरोपमा दिलीप पण्डित र देवलाल ठाकुर प्रहरी हिरासतमा रहेका छन्। घटनामा संलग्न भनिएका अन्य आरोपीहरू रवीन्द्र यादव, विकी गुप्ता र लालकिशोर पटेल भने हालसम्म प्रहरी नियन्त्रणमा नआएको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM