अभिलाष गुप्ता
वीरगञ्ज, १० जेठ

नेपाल पत्रकार महासंघ पर्सा को आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम ओम प्रकाश खनाल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने श्याम बञ्जारा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी अतिथिहरूमा केसी लामिछाने, दिपेन्द्र चौहान, शम्भु सुमन लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक तिवारी ले पत्रकारितामा आचारसंहिताको पालना अत्यन्त आवश्यक रहेको बताएका छन्। उनले सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्न सत्यतथ्य, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण अपरिहार्य रहेको उल्लेख गरे। पत्रकारले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय बढ्दो सूचना प्रवाहसँगै पत्रकारितामा चुनौती थपिएको बताए।
त्यसैगरी कार्यक्रमका अध्यक्ष ओम प्रकाश खनाल ले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा पेशागत मर्यादा कायम राख्न यस्ता अनुशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन निरन्तर प्रशिक्षण तथा छलफल आवश्यक रहेको धारणा राखे।
अनुशिक्षण कार्यक्रममा पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिता, जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत मर्यादाका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक केसी लामिछाने ले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादनमा अपनाउनुपर्ने सावधानी तथा पत्रकारिताको वर्तमान चुनौतीबारे सहजीकरण गरेका थिए। उनले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता अनुशिक्षण कार्यक्रमले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।








