अभिलाष गुप्ता
पर्सा, ११ जेठ

१४औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय प्रतियोगिता अन्तर्गत सिमरामा सहभागी हुन जाने पर्सा जिल्लाका तेक्वान्दो खेलाडीहरूलाई भव्य बिदाइ गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले खेलकुदले अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उल्लेख गर्दै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनमार्फत पर्सा जिल्लाको नाम उच्च राख्न आग्रह गरेका थिए। कार्यक्रममा प्रशिक्षक विक्रान्त डंगोलले खेलाडीहरूको मेहनत, लगनशीलता र तयारीप्रति विश्वास व्यक्त गर्दै प्रदेशस्तरमा उत्कृष्ट नतिजा आउने अपेक्षा रहेको बताए।
त्यसैगरी पर्सा जिल्ला खेलकुद विकास समितिका गणेश श्रेष्ठ, राजेन्द्र साही, महम्मद ओसम लगायतका खेलकुदकर्मी तथा गुरुहरूको उपस्थिति रहेको थियो। उनीहरूले खेलाडीहरूलाई मनोबल उच्च राख्दै अनुशासित खेल प्रदर्शन गर्न सुझाव दिएका थिए।
यसैबीच पर्सा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भएका सम्पूर्ण खेलाडीहरूलाई बधाई ज्ञापन गरिएको छ। विशेषगरी Safal Taekwondo Dojang का दुई जना खेलाडी जिल्ला छनोट पार गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन हुन सफल भएकोमा विशेष बधाई दिइएको थियो।
कार्यक्रममा खेलाडीहरूको मेहनत, अनुशासन र संघर्षले आगामी दिनमा अझ ठूलो सफलता दिलाउने विश्वास व्यक्त गरिएको थियो। सहभागीहरूले पर्साका खेलाडीहरूले प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरी जिल्लाको गौरव बढाउने अपेक्षा समेत व्यक्त गरेका थिए।








