२०८३ जेष्ठ १२ गते मंगलवार

सूर्य मन्दिर तालाबमा शिवलिङ्ग फेला परेपछि श्रद्धालुको भीड उम्टियो

रक्सौलस्थित ऐतिहासिक सूर्य मन्दिर परिसरमा रहेको तालाबको जीर्णोद्धार तथा सरसफाइका क्रममा प्राचीन शिवलिङ्ग फेला परेपछि मंगलबार श्रद्धालुहरूको ठूलो भीड लागेको छ। शिवलिङ्ग फेला परेको खबर फैलिनासाथ मन्दिर परिसर “हर हर महादेव” र “जय शिव शंकर”को जयघोषले गुञ्जायमान बनेको थियो।

मन्दिर समितिका सदस्य तथा श्रद्धालुहरूले श्रद्धापूर्वक शिवलिङ्गलाई काँधमा बोकेर मन्दिर परिसरमा ल्याई विधिपूर्वक पूजा–आराधना सुरु गरेका छन्। अहिले पनि दर्शन तथा पूजाका लागि श्रद्धालुहरूको भीड निरन्तर बढिरहेको छ। मन्दिर परिसरमा आस्था, भक्ति र उत्साहको विशेष माहोल देखिएको छ।

उल्लेखनीय छ, गत साता यही सूर्य मन्दिर तालाबको सफाइका क्रममा करिब ११ किलो तौलको दुर्लभ कछुवा फेला परेको थियो। धेरै श्रद्धालुहरूले उक्त कछुवालाई भगवान विष्णुको कूर्म अवतारसँग जोडेर आस्था व्यक्त गरेका थिए। त्यसको एक साताभित्रै शिवलिङ्ग फेला परेपछि धार्मिक विश्वास अझ बलियो बनेको स्थानीयहरूको भनाइ छ।

मन्दिरका मुख्य पुजारी पण्डित आमोद मिश्रले सूर्य मन्दिर परिसर प्राचीनकालदेखि नै धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा परिचित रहेको बताउँदै शिवलिङ्ग फेला पर्नुले यस स्थानको धार्मिक महत्व थप पुष्टि भएको बताए।

त्यस्तै मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया र मिडिया प्रभारी रजनीश प्रियदर्शीले दुर्लभ कछुवा र शिवलिङ्ग लगातार फेला पर्नु सामान्य घटना नभएको उल्लेख गर्दै यस स्थलमा भगवान शिव र विष्णुको विशेष कृपा रहेको विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM