अभिलाष गुप्ता
वीरगञ्ज, १३ जेठ
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति एसपी मोहन क्षेत्री को प्रमुख आतिथ्यमा गौतम स्कूल मा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १३० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई समाज तथा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले निर्वाह गर्ने भूमिका, राजस्व संरक्षण, सीमा सुरक्षा तथा सामाजिक सुरक्षामा नागरिकको सहकार्यबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूलाई राष्ट्र सुरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति सचेत बन्न आग्रह गरिएको थियो।
उक्त कार्यक्रम Allied Youth Society का अध्यक्ष पीयूष गुप्ता को अध्यक्षतामा तथा दिव्य ज्योतिको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले युवापुस्तामा सुरक्षा निकायप्रति सकारात्मक सोच र सहकार्यको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मानवसेवा आश्रम का संस्थापक सदस्य देवेश गुप्ता, एलाईड युथ सोसाइटी वीरगञ्जका संस्थापक ओम कुमार झा, गौतम विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री लगायत रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकहरूले समाजमा सुरक्षा, समन्वय तथा जनचेतना अभिवृद्धिका लागि आगामी दिनमा पनि सशस्त्र प्रहरी बलसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।










