२०८३ जेष्ठ १६ गते शनिबार

नारायणी अस्पताल हस्तान्तरणबारे भ्रममा नपर्न सांसद सुशिल साह कानुको आग्रह

अभिलाष गुप्ता
वीरगञ्ज, १४ जेठ

पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानु ले नारायणी अस्पताल लाई मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। उनले आम नागरिकलाई भ्रमपूर्ण समाचार र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कानुले नारायणी अस्पतालको सञ्चालन संघीय सरकारकै मातहतमा रहने व्यवस्था कायम रहेको सम्बन्धित निकायले स्पष्ट पारेको जानकारी दिएका हुन्।

हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अस्पताल हस्तान्तरणसम्बन्धी विभिन्न समाचार र चर्चा भइरहेका बेला उनले ती सूचनाप्रति सचेत रहन आग्रह गरेका छन्। स्वास्थ्यजस्तो संवेदनशील विषयमा आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्नुपर्ने उनको भनाइ छ।

सांसद कानुले जिल्लावासीलाई सामाजिक सञ्जालमा फैलिने अफवाह र गलत सूचनाबाट सतर्क रहन तथा आधिकारिक जानकारीलाई मात्र आधार मान्न अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM