२०८३ जेष्ठ १५ गते शुक्रबार

मानवसेवा आश्रम वीरगञ्ज शाखाले आफ्नो ९औँ वार्षिक उत्सव समारोह मनाउदै

अभिलाष गुप्ता
वीरगञ्ज, १५ जेठ

मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आफ्नो ९औँ वार्षिक उत्सव समारोह विविध कार्यक्रम मनाउदै। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै आश्रमको वीरगञ्ज शाखाको औपचारिक शुभारम्भ गरिएको थियो।
उक्त मानवीय अभियानमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लालबहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको विशेष उपस्थिति रहेको थियो।

मानवसेवा आश्रम वीरगञ्ज शाखा २०७४ देखि २०७९ सालसम्म वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरमा सञ्चालन हुँदै आएको थियो। त्यसपछि २०८० सालमा प्रदेश सांसद रमेश पटेलको विशेष पहलमा वीरगञ्ज–२५ श्रीसियामा वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा आश्रम व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। साथै वीरगञ्ज–१५ लक्ष्मणवामा वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत सुरु भइसकेको छ।
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो। संवत् २०६९ सालदेखि मानव सेवामा सक्रिय रहेको संस्थाले २०७३/०४/०२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई खुला आकाशमुनि, सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ।

हाल मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने लक्ष्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ।आश्रम वीरगञ्ज शाखाको तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ भने ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ। साथै ६५ जनालाई आश्रमका अन्य शाखामा स्थानान्तरण गरिएको छ भने ४१ जनाले आश्रममै अन्तिम श्वास लिनुभएको छ। हाल श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।

मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले आश्रम सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीलाई धेरैले सोध्ने गर्नुहुन्छ— यति ठूलो संस्था कसरी चलिरहेको छ ? पैसा कहाँबाट आउँछ ? डोनर को हुन् ? त्यसको उत्तर हामी गर्वका साथ दिने गर्छौं— मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको पसिनाको कमाइबाट चलेको आश्रम हो।”
उहाँका अनुसार दैनिक मजदुरी गर्ने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी तथा गृहिणीसम्म सबै वर्गका मानिसहरूले आफ्नो क्षमता अनुसार आश्रमलाई सहयोग गर्दै आएका छन्। “सहयोगी मनहरू, दाताहरू, शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण पर्सा–बारावासीको साथ, विश्वास, माया र सहयोग बिना यो ९ वर्षको यात्रा सम्भव हुने थिएन,” उहाँले भन्नुभयो।मानवसेवा आश्रम वीरगञ्ज परिवारले विगत ९ वर्षदेखि निरन्तर साथ, माया, प्रेरणा र सहयोग प्रदान गर्ने सम्पूर्ण वीरगञ्जवासी, सहयोगी मनहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो । जय मानवसेवा ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM