२०८३ जेष्ठ १५ गते शुक्रबार

गणतन्त्र दिवसको अवसरमा साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, १५ जेठ

गणतन्त्र दिवसको अवसर पारेर वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य अवस्थाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालयले वर्षभरि ३ देखि ४ पटक नियमित रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम अन्तर्गत आज गणतन्त्र दिवसको विशेष अवसरमा नाक, कान, घाँटी तथा सम्पूर्ण शरीर (फुल बडी) को स्वास्थ्य परीक्षण गरिएको हो। आगामी दिनमा दन्त परीक्षण तथा आँखा जाँचसमेत सञ्चालन गरिने विद्यालयले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत आजको पहिलो दिन ५ जना चिकित्सकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. उमेश कुमार कुशवाहा, डा. प्रमोद कुमार राम, डा. मुकुन्द जैसवाल, डा. सन्नी फारुख अन्सारी र डा. सुशील कुमारले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका हुन्।

कार्यक्रम विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सकहरू तथा विशेषज्ञ डाक्टरहरूको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका हुन्।

परीक्षणका क्रममा चिकित्सकहरूले विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य जाँच तथा स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएका थिए। यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना वृद्धि भएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका भाइस प्रिन्सिपल अशोक संग्रौलाले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम वर्षमा ३ देखि ४ पटकसम्म नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा पनि विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा दन्त तथा आँखा परीक्षणलगायतका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताए।

विद्यालय परिवारले नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM