२०८३ जेष्ठ १५ गते शुक्रबार

जगरनाथपुरमा युवाहरूलाई क्रिकेट सामग्री सहयोग, समाजसेवी बृजेश चौधरीद्वारा खेलकुद प्रवर्द्धनमा योगदान

अभिलाष गुप्ता
वीरगञ्ज, १५ जेठ

जगरनाथपुर गाउँपालिका वडा नं. ३, बिजबनियामा युवाहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले समाजसेवी बृजेश प्रसाद चौधरीले क्रिकेट खेल सामग्री सहयोग गरेका छन्।

स्थानीय युवाहरूको खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित चौधरीले एक थान क्रिकेट ब्याट तथा ६ थान स्टम्प हस्तान्तरण गरेका हुन्। उक्त सामग्री हस्तान्तरण कार्यक्रम स्थानीयस्तरमै सम्पन्न गरिएको थियो।

कार्यक्रममा समाजसेवी चौधरीसँगै सरफुदिन आलम, घनश्याम यादव, शुभनारायण यादव लगायत स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा समाजसेवी चौधरीले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न र उनीहरूको प्रतिभा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले निरन्तर रूपमा यस्ता सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि खेलकुद सामग्रीसँगै गरिब तथा असहाय परिवारका लागि खाद्यान्न, कपडा तथा आर्थिक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले चौधरीको यस पहललाई स्वागत गर्दै यसले गाउँका युवाहरूमा खेलकुदप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM