अभिलाष गुप्ता
वीरगञ्ज, १६ जेठ

प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको दुई पत्रकारिता पुरस्कारबाट पत्रकार निरज पिठाकोटे मगर र बलिराम यादव सम्मानित भएका छन्।
महान शहीद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘कृष्ण सेन इच्छुक सम्मान’ पत्रकारिता पुरस्कारबाट निरज पिठाकोटे मगर तथा ‘प्रेस सेन्टर नेपाल युवा क्रियाशील पत्रकारिता पुरस्कार’बाट बलिराम यादव सम्मानित भएका हुन्। दुवैलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।
पिठाकोटे मगर कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष हुन् भने यादव राष्ट्रिय फण्डा अनलाइनका सञ्चालक तथा प्रेस सेन्टर नेपाल पर्साका सदस्य हुन्।
शनिबार आयोजित सम्मान समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल गिरीले कृष्ण सेन ‘इच्छुक’ जस्तो क्रान्तिकारी पत्रकारको नाममा स्थापित पुरस्कारका लागि योग्य व्यक्तित्व छनोट गरिएको भन्दै सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले सेनको हत्यामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै न्यायका लागि पत्रकारहरू एकजुट हुनुपर्ने बताए।
वरिष्ठ सञ्चारकर्मी गोविन्द देवकोटाले शहीद पत्रकारहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि चुनौती थपिँदै गएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि भइरहेको आर्थिक दबाबविरुद्ध संघर्ष आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अजित कुमार भूजेलले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








