२०८३ जेष्ठ १६ गते शनिबार

आदर्श स्कुलद्वारा मोन्टेसरी ग्राजुएसन समारोह सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, १६ जेठ

वीरगञ्जस्थित आदर्श स्कुलले मोन्टेसरी तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै भव्य रूपमा मोन्टेसरी ग्राजुएसन समारोह सम्पन्न गरेको छ।

विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्राध्यापक हरि रत्न तुलाधरले व्यक्त गरेका थिए। त्यसैगरी बिपिसी कलेजका कोर्डिनेटर बासु कर्ण तथा अभिभावक जवाहर साह,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

समारोहमा मोन्टेसरी तह पूरा गरेका विद्यार्थीहरूलाई ग्राजुएसनको सम्मान प्रदान गरिएको थियो। साथै साना बालबालिकाहरूले विभिन्न गीत, संगीत, नृत्य तथा नाटक प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवेश गुप्ताले बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्य निर्माणको आधार भएको बताउँदै विद्यालय र अभिभावकबीचको सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्यक्त गरे। उनले बालबालिकामा नैतिक शिक्षा, अनुशासन र मानवीय मूल्यको विकास गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै उनले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिएका थिए।

विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेले मोन्टेसरी तहबाट स्नातक भएका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको शैक्षिक यात्राको यो महत्वपूर्ण उपलब्धि भएको बताए। उनले विद्यालयले गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र बालमैत्री वातावरणमार्फत विद्यार्थीहरूको क्षमता विकासमा निरन्तर काम गरिरहेको उल्लेख गरे। यस्ता ग्राजुएसन समारोहले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै नयाँ तहमा अध्ययनका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकाको प्रतिभा, प्रस्तुति तथा उपलब्धि देखेर खुसी व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM