अभिलाष गुप्ता
वीरगञ्ज, २३ जेठ

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा आयोजित सम्मान कार्यक्रम–२०८३ शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। एसईई २०८२ को नियमित परीक्षामा वीरगञ्ज महानगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये प्रत्येक विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने २१ जना छात्र–छात्रालाई सम्मान गरिएको हो।
वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने रहेका थिए। कार्यक्रम शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको बताए। उनले विद्यार्थीहरूलाई प्राप्त सम्मानलाई प्रेरणाको रूपमा लिएर आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वाससमेत बढाउने बताए। महानगरपालिकाले गुणस्तरीय शिक्षाको विकास तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा यस्ता रचनात्मक गतिविधिमा सहकार्य गर्न महानगरपालिका सदैव तयार रहेको बताए।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय,अभिलाष गुप्ता,लाल बाबू सिंह लगायत प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा श्रीमती इदिरा देबि खनाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी,वरिष्ठ उपाध्यक्ष सुशिला साह,सचीव अशोक सङौला,लायन्स क्लबका राम बिहारी पाण्डे,मानवसेवा आश्रमका देवेश गुप्ता,एलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवन बहादुर रायमाझी,रितेश गुप्ता,राजेन्द्र कोइराला लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सम्मानित विद्यार्थीहरूलाई जनही नगद रु. १ हजार ५ सय, सम्मानपत्र, खादा तथा टीका प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा किरण कुमारी साह, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, साहिल मियाँ, समिर कुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, निशा पटेल, अनिसा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, सुरज कुमार, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विध्या कुमारी, पूजा कुमारी पटेल, राजकरण ठाकुर लोहार, अञ्जली कुमारी, सादिया खातुन, महम्मद उमर फारूक तथा सन्दर्भ माली रहेका छन्।
कार्यक्रमका संयोजक प्रभु रौनियारले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कार्यक्रमको सफलतामा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे।









