२०८३ जेष्ठ २७ गते बुधबार

रास्वपा बारा जिल्ला सचिव पदमा सन्नी जैसवालको उम्मेदवारी घोषणा

अभिलाष गुप्ता
बारा, २४ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको प्रथम जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रक्रिया थप सक्रिय बनेको छ। अधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुने क्रममा युवा नेता सन्नी जैसवालले जिल्ला सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

जैसवालले पार्टी संगठनलाई जिल्लाको हरेक पालिकासम्म सुदृढ र प्रभावकारी बनाउने, युवाको सक्रिय सहभागिता बढाउने तथा पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यका साथ उम्मेदवारी दिएको बताएका छन्। उनले रास्वपाले अघि सारेका सुशासन, पारदर्शिता र जवाफदेहिताका एजेन्डालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

उम्मेदवारी घोषणा गर्दै जैसवालले पार्टीका सदस्य, शुभेच्छुक तथा प्रतिनिधिहरूको विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। उनले बारा जिल्लामा संगठन विस्तार, सदस्यता वृद्धि तथा जनसरोकारका विषयमा पार्टीको भूमिकालाई थप मजबुत बनाउन आफूले विशेष पहल गर्ने बताए।

रास्वपा बारा जिल्ला अधिवेशनलाई संगठन निर्माण तथा नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अधिवेशनमार्फत जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव तथा अन्य पदाधिकारीसहित नयाँ जिल्ला कार्यसमिति चयन गरिने जनाइएको छ।

पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूले लोकतान्त्रिक प्रक्रियामार्फत सक्षम र जिम्मेवार नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्। अधिवेशनमा विभिन्न पदका लागि प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिनेछ।

जिल्ला सचिव पदका उम्मेदवार सन्नी जैसवालले संगठनको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधिहरूसँग सहयोग, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM