अभिलाष गुप्ता
वीरगञ्ज, २६ जेठ

वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूको नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा खेलकुद संयोजक चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यालयले विद्यार्थीहरूलाई सानै उमेरदेखि लोकतान्त्रिक अभ्यासको अनुभव गराउने लक्ष्यसहित निर्वाचन आयोजना गरेको जनाएको छ। निर्वाचनमा हरियो, पहेँलो, निलो र रातो हाउसका विद्यार्थीहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूले आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्दै साथी विद्यार्थीहरूसँग मत मागिरहेका छन्।
विद्यालयका प्रिन्सिपल जियालाल गुप्ताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, निर्णय क्षमता तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकास गराउने उद्देश्यले निर्वाचन प्रक्रिया अपनाइएको बताए। उनका अनुसार विद्यालयस्तरमै निर्वाचनको अभ्यास गराउँदा विद्यार्थीहरूले मतदानको महत्व, मतदाता अधिकार, मत सदर तथा बदर हुने प्रक्रिया लगायत लोकतान्त्रिक प्रणालीबारे व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर पाउँछन्।
“विद्यार्थीहरूले भविष्यमा वास्तविक निर्वाचनमा सचेत, जिम्मेवार र विवेकशील मतदाताको रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” प्रिन्सिपल गुप्ताले भने।
निर्वाचनमार्फत चयन हुने हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा अन्य विद्यार्थी प्रतिनिधिहरूले विद्यालयमा अनुशासन कायम गर्न, विद्यार्थीहरूको आवाज विद्यालय प्रशासनसम्म पुर्याउन, विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा समन्वय गर्न तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन्।
उम्मेदवार बनेका विद्यार्थीहरूले आफूहरू निर्वाचित भए विद्यालयको शैक्षिक तथा अतिरिक्त गतिविधिको विकास, विद्यार्थीहरूको समस्या समाधान तथा विद्यालयको समग्र हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालय प्रशासनका अनुसार निर्वाचन प्रक्रिया उत्साहपूर्ण, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन भइरहेको छ। विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले विद्यालय परिसरमा चुनावी माहोल सिर्जना भएको छ।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, जिम्मेवारीबोध, सहकार्यको भावना तथा लोकतान्त्रिक अभ्यासप्रतिको रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। साथै, भविष्यका सक्षम नेतृत्व तयार गर्न विद्यालयस्तरको यस्तो अभ्यास प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।








