२०८३ जेष्ठ २८ गते बिहीबार

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदको विरोध गर्दै पर्साका पत्रकारद्वारा एक घण्टा धर्ना

अभिलाष गुप्ता
वीरगञ्ज, २७ जेठ

सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारले अवलम्बन गरेको विभेदकारी तथा स्वेच्छाचारी नीतिको विरोधमा पर्साका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि विरोध प्रदर्शनसहित एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरिएको हो।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा पर्सामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको धर्नामार्फत पत्रकारहरूले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको समान पहुँच तथा संवैधानिक अधिकारको संरक्षणको माग गरेका थिए।

धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी हालै गरिएको निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले राज्यका सूचना तथा विज्ञापनमा सबै सञ्चारमाध्यमको समान, निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका पदाधिकारी तथा सञ्चारकर्मीहरूले सरकारको पछिल्लो निर्णयले सञ्चार क्षेत्रभित्र अस्वस्थ वर्गीकरण, विभेद र असमानता सिर्जना गरेको आरोप लगाए। उनीहरूको भनाइमा उक्त निर्णयले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता तथा साना तथा स्थानीय सञ्चारमाध्यमको अस्तित्वमाथि समेत नकारात्मक प्रभाव पार्नेछ।

धर्नाका क्रममा पत्रकारहरूले स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमप्रति अपनाइएको विभेदपूर्ण नीति तत्काल फिर्ता लिन तथा प्रेसमैत्री वातावरण कायम गर्न आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सञ्चार क्षेत्रको हकहित, व्यावसायिक सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

पत्रकारहरूले लोकतान्त्रिक समाजमा स्वतन्त्र र सशक्त सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै राज्यका सबै निकायले प्रेस स्वतन्त्रताको सम्मान गर्दै समान व्यवहार गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM