२०८३ जेष्ठ ३० गते शनिबार

तस्करीको समाचार लेखेको प्रतिशोधमा वीरगञ्जमा तीन पत्रकारमाथि मध्यराति ज्यानलेवा आक्रमण, सञ्चारकर्मी संगठनहरूको कडा विरोध

अभिलाष गुप्ता
वीरगञ्ज, ३० जेठ

वीरगञ्ज र आसपासका नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको अनधिकृत चोरी पैठारी (तस्करी) तथा खुला सिमानाको दुरुपयोग सम्बन्धी समाचार संकलन गरेर फर्किरहेका तीन जना पत्रकारमाथि मध्यराति संगठित रूपमा ज्यानलेवा आक्रमण भएको छ। तस्करी र त्यससँग जोडिएका अवैध गतिविधिबारे सत्यतथ्य समाचार प्रकाशन गरेकै प्रतिशोधमा पत्रकारहरूलाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाइएको छ।

गत शुक्रबार (जेठ २९ गते) राति करिब १२ः४० बजे वीरगञ्ज महानगरपालिका–१० अन्तर्गत सिर्सिया जाने बाटोमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र दिशानिर्देश अनलाइन का पत्रकार रुस्तम अली माथि आक्रमण भएको हो। कार्यालयको काम सकेर घर फर्किने क्रममा उनीहरू सवार मोटरसाइकललाई एक समूहले बीच बाटोमै रोकेर घेराबन्दी गरेको बताइएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा तथा हिन्दू पत्रकार संघ नेपालद्वारा जारी विज्ञप्तिअनुसार, खुला सिमानाको दुरुपयोग गरी भइरहेको तस्करीसम्बन्धी समाचार सार्वजनिक गरेको प्रतिशोध स्वरूप चोरी पैठारीमा संलग्न रहेको आरोप लागेका पशुपति यादवको नेतृत्वमा आएका १०–१२ जनाको समूहले पत्रकारहरूमाथि कुटपिट गरेको हो। आक्रमणकारीहरूले पत्रकारहरूसँग रहेका मोबाइल फोन, नगद रकम तथा सुनको सिक्रीसमेत लुटेर फरार भएको जनाइएको छ।

पीडित पत्रकारहरूका अनुसार आक्रमणका क्रममा समूहले “तिमीहरूले सशस्त्र प्रहरी र हाम्रो सेटिङबारे भिडियोसहित समाचार बनाएर समस्या सिर्जना गर्यौ” भन्दै धम्की दिएको थियो। उनीहरूले तस्करीको गतिविधिमा असर पुगेको भन्दै पत्रकारहरूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए। यसले पत्रकारमाथिको आक्रमण पूर्वनियोजित र प्रेस स्वतन्त्रतालाई दबाउने उद्देश्यले गरिएको दाबी सञ्चारकर्मीहरूले गरेका छन्।

घटनापछि नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। महासंघ पर्साका सचिव विजयकुमार महतो तथा हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारले पत्रकारमाथिको आक्रमणलाई सञ्चार क्षेत्र र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहारको संज्ञा दिएका छन्।

दुवै संस्थाले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग घटनाका मुख्य योजनाकारसहित संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन तथा कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै पत्रकारहरूको सुरक्षाप्रति गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गर्दै दोषीहरूलाई कानुनी दायरामा नल्याइए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

अग्निपथ मिडिया प्रालिका पर्सा जिल्ला संवाददाता सञ्जय कुशवाहाका अनुसार घटनाबारे वडा प्रहरी कार्यालय बिर्तामा जानकारी गराइसकिएको छ। घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले घटनालाई गम्भीर रूपमा लिइएको बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको छ र छिट्टै दोषीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ।

सीमा क्षेत्रमा हुने तस्करी र अवैध गतिविधिबारे समाचार सम्प्रेषण गर्ने पत्रकारहरूमाथि भएको यस घटनाले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा कानुनी शासनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रले दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM