अभिलाष गुप्ता
वीरगञ्ज, असार ३

वीरगञ्जमा विगत १२ वर्षदेखि इलेक्ट्रिक सवारीसाधनको बिक्री तथा सेवा प्रदान गर्दै आएको कुशवाहा मोटर्स नयाँ स्थानमा स्थानान्तरण भई सेवा सञ्चालनमा आएको छ। यसअघि वीरगञ्जको त्रिमूर्ति चोकबाट सञ्चालन हुँदै आएको मोटर्स अब सो स्थानबाट करिब २०० मिटर उत्तरतर्फ मुख्य सडकमा सरेर सेवा दिन थालेको हो।
नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा बुधबार विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो। कार्यक्रमबीच नयाँ शोरुमको उद्घाटन मोटर्सका सञ्चालक बलिराम कुशवाहाका बुवा धुरुप कुशवाहा तथा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एस.के. चौरसियाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै सञ्चालक बलिराम कुशवाहाले ग्राहकलाई अझ सहज, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले व्यवसायलाई नयाँ तथा फराकिलो स्थानमा सारिएको बताए। उनले नयाँ शोरुमबाट बिक्री, मर्मत तथा ग्राहक सेवाका सम्पूर्ण सुविधा थप व्यवस्थित ढंगले उपलब्ध गराइने जानकारी दिए।
कुशवाहाले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई वैदेशिक रोजगारीतर्फ पलायन हुनबाट रोक्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले इलेक्ट्रिक सवारीसाधनको प्रयोगले वातावरण संरक्षणका साथै सञ्चालन खर्चसमेत कम हुने भएकाले यसको माग दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरे।
उनले कम्पनीमार्फत बिक्री हुने इलेक्ट्रिक रिक्सा तथा लोडर खरिदका लागि सहज फाइनान्स सुविधाको व्यवस्था गरिएको जानकारी दिँदै इच्छुक ग्राहकलाई सेवा लिन आग्रह गरे। “ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दी सुविधासमेत उपलब्ध गराएका छौं, जसले व्यवसायी तथा चालकहरूलाई ठूलो राहत पुग्नेछ,” उनले भने।
कार्यक्रममा उपस्थित अतिथिहरूले कुशवाहा मोटर्सले लामो समयदेखि वीरगञ्ज क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा प्रभावकारी रूपमा प्रदान गर्दै आएको उल्लेख गर्दै व्यवसायको थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कुशवाहा मोटर्सले वीरगञ्ज तथा आसपासका क्षेत्रमा इलेक्ट्रिक रिक्सा, लोडर तथा अन्य विद्युतीय सवारीसाधनको बिक्री, मर्मत तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ। नयाँ स्थानमा स्थानान्तरणसँगै कम्पनीले सेवा विस्तार तथा ग्राहक सन्तुष्टिलाई थप प्राथमिकता दिने जनाएको छ।








