२०८३ असार ९ गते मंगलवार

कक्षा १२ मा ३.८८ जीपीए ल्याएकी कुल्सुम खातुनलाई ओम नेशनल कलेजद्वारा सम्मान, ल्यापटप हस्तान्तरण

अभिलाष गुप्ता
वीरगञ्ज,०९ असार

वीरगञ्जस्थित ओम नेशनल कलेजकी छात्रा कुल्सुम खातुनले कक्षा १२ को परीक्षामा ३.८८ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेपछि कलेजले उनलाई सम्मान गरेको छ। बाराको जीतपुर–सिमरा निवासी खातुन पर्सा–बारा क्षेत्रकै उत्कृष्ट छात्रामध्ये एक बन्न सफल भएकी छन्।

कलेज परिसरमा आयोजित विशेष कार्यक्रममा खातुनलाई कलेजकी निर्देशक शोभा यादवले खादा ओढाएर सम्मान गर्नुका साथै एक थान ल्यापटप हस्तान्तरण गरिन्। कार्यक्रममा खातुनका अभिभावकको समेत उपस्थिति रहेको थियो।

सम्मानपछि प्रतिक्रिया दिँदै खातुनले आफ्नो सफलताको श्रेय अभिभावकको साथ, कलेजको शैक्षिक वातावरण तथा व्यक्तिगत अनुशासनलाई दिइन्। उनले निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन र परिवारको सहयोगका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन्।

कार्यक्रममा निर्देशक शोभा यादवले खातुन तथा उनका अभिभावकलाई बधाई दिँदै विद्यार्थीको उपलब्धिले कलेजको गौरव बढाएको बताइन्। उनले कलेजले हरेक वर्ष उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटपलगायत विशेष पुरस्कार प्रदान गर्दै आएको जानकारी दिइन्।

विज्ञान संकायमा उत्कृष्ट नतिजाका लागि परिचित ओम नेशनल कलेज वीरगञ्जको शैक्षिक क्षेत्रमा प्रतिष्ठित संस्थाका रूपमा स्थापित छ। वीरगञ्ज महानगरपालिका–११, ओम आश्रम रोडमा रहेको कलेजमा हाल कक्षा ११ र १२ मा गरी ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

निर्देशक यादवका अनुसार कलेजमा कार्यरत अनुभवी तथा दक्ष शिक्षकहरूको योगदानले शिक्षाको गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेका छन्। उनले कुल्सुम खातुनको सफलताले कलेजको प्रतिष्ठा थप उचाइमा पुगेको उल्लेख गरिन्।

भौतिकशास्त्रका प्राध्यापक डा. लालबाबु यादवद्वारा २०४८ सालमा स्थापित ओम नेशनल कलेजले स्थापना कालदेखि नै विज्ञान संकायमा उल्लेखनीय नतिजा दिँदै आएको छ। विज्ञान विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कलेजका कारण बारा–पर्साका विद्यार्थीहरू एसएलसी तथा एसईईपछि अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता समेत हटेको थियो।

कलेजका संस्थापक डा. यादवको मोटरसाइकल दुर्घटनापछि उपचारका क्रममा निधन भएको थियो। त्यसयता उनकी श्रीमती शोभा यादवले कलेजको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छन्। यस वर्ष कुल्सुम खातुनले हासिल गरेको उत्कृष्ट नतिजाले कलेजको शैक्षिक परम्परालाई थप मजबुत बनाएको कलेज प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM