२०८३ असार ९ गते मंगलवार

ट्राफिक नियम पालनाको सन्देशसहित वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन संगै ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, असार ९

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सञ्चालन भइरहेको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत सातौँ दिन वीरगञ्जको घण्टाघर चोकमा सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

“ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय नारायणी पर्साका कार्यालय प्रमुख, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी छप्कैयाका अध्यक्ष, 100 Groups पर्साका प्रतिनिधिहरू, विभिन्न क्लब तथा संघ–संस्थाका संयोजक एवं प्रतिनिधिहरू, सवारी चालक, व्यवसायी, प्रहरी कर्मचारी, नगर प्रहरी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दीप प्रज्वलनमार्फत विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले ट्राफिक नियमको पालना र सडक सुरक्षाप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा निकाय, चालक तथा सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी पर्साका वरिष्ठ सई अर्जुन सोडारीको विशेष उपस्थिति रहेको थियो।

ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३ अन्तर्गत ट्राफिक नियमको जानकारी, सडक सुरक्षा सचेतना तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM