अभिलाष गुप्ता
वीरगञ्ज असार १०

वीरगञ्जस्थित नवदिप एकेडेमीमा विद्यार्थीहरूको सिर्जनशीलता, टोलीगत भावना तथा कलात्मक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कक्षा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका विद्यार्थीहरूले आफ्नो कल्पनाशक्ति, नवीन सोच तथा कलात्मक सीप प्रस्तुत गर्दै कक्षाकोठाहरूलाई आकर्षक, व्यवस्थित तथा सिकाइमैत्री वातावरणमा रूपान्तरण गरेका थिए। रङ्गीन सामग्री, सन्देशमूलक सजावट तथा सिर्जनात्मक प्रस्तुतीमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रिन्सिपल सुशिला साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरू, अभिभावकहरू तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले यस्ता गतिविधिले विद्यार्थीहरूमा सिर्जनशीलता, सहकार्य, नेतृत्व क्षमता, आत्मअभिव्यक्ति तथा जिम्मेवारीबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, आफ्नै सिकाइ वातावरणप्रति अपनत्व र गर्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
प्रतियोगितापछि निर्णायक मण्डलले सजावटको सौन्दर्य, सिर्जनशीलता, सफाइ, व्यवस्थापन तथा टोलीगत कार्यका आधारमा नतिजा घोषणा गरेको थियो।
कक्षा सजावट प्रतियोगिताको नतिजा जुनियर प्रि–प्राइमरी तहमा प्रथम : एलकेजी ‘A’ सेक्शन,द्वितीय : नर्सरी ‘A’ सेक्शन,तृतीय : यूकेजी ‘A’ सेक्शन बिजेता भएका थिए।
प्राथमिक तहमा प्रथम : कक्षा ३ ‘A’ सेक्शन,द्वितीय : कक्षा १ ‘A’ सेक्शन,तृतीय : कक्षा २ ‘A’ सेक्शन बिजेता भएका थिए।
माध्यमिक तहमा प्रथम कक्षा १० द्वितीय : कक्षा ९ र तृतीय कक्षा ८ बिजेता भएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा विद्यालय प्रशासनले विजेता तथा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई बधाई ज्ञापन गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।








