२०८३ असार १४ गते आईतवार

बिपिएस +२ कलेजद्वारा कक्षा १२ मा A+ र A ग्रेड ल्याउने २५ विद्यार्थी सम्मानित, गुणस्तरीय शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता

अभिलाष गुप्ता
वीरगञ्ज, असार १४

वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को कक्षा १२ को नतिजामा A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीको सफलताले कलेज परिवारलाई गौरवान्वित बनाएको बताउँदै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र दक्ष शिक्षकमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेज निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले भने, “विद्यार्थीहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र आधुनिक शिक्षण पद्धतिमार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। सबै विद्यार्थीलाई आत्मविश्वासका साथ जीवनको हरेक क्षेत्रमा सफल बन्न शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता तथा दिपेन्द्र कानु, विशेष द्विवेदी, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, आकाश पटेल, दयानन्द बैठा, निर्मल ताम्राकार लगायत शिक्षक, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिरसहित गरिएको थियो।

यसैबीच कलेजले कक्षा ११ व्यवस्थापन (Management) संकायमा नयाँ भर्ना प्रक्रिया जारी रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM