अभिलाष गुप्ता
वीरगञ्ज, असार १४

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा “आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद” विषयक अन्तरसंवाद कार्यक्रम आइतबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
मदन भण्डारी फाउण्डेशन, पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा पुरुषोत्तम पौडेल सहभागी हुनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य लालबाबु शेख, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी तथा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र,नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष एवं समाजसेवी कमल चौगाईको उपस्थिति रहेको थियो।
अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त आजको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए। उहाँहरूले जबजले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समृद्धिको मार्गलाई संस्थागत गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यसको मूल मर्मलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले मदन भण्डारीको राजनीतिक योगदान, दूरदर्शी नेतृत्व र वैचारिक विरासतको स्मरण गर्दै उहाँका विचारहरूले नेपाली राजनीतिलाई नयाँ दिशा प्रदान गरेको बताएका थिए। साथै वर्तमान पुस्ताले उहाँका आदर्श, सिद्धान्त र राष्ट्रिय हितप्रतिको समर्पणबाट प्रेरणा लिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, मदन भण्डारी फाउण्डेशन पर्साका पदाधिकारी, राजनीतिकर्मी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा फाउण्डेशनका अध्यक्ष शत्रुधन नेपालले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै जननेता मदन भण्डारीका विचार र सिद्धान्तलाई समाजमा थप व्यापक रूपमा स्थापित गर्न यस्ता वैचारिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।























