२०८३ असार १७ गते बुधबार

लायन्स क्लब अफ वीरगञ्ज सेन्टल सिटीको पद हस्तान्तरण सम्पन्न, देवन्ती शाह अध्यक्ष

अभिलाष गुप्ता
वीरगञ्ज, असार १६

लायन्स क्लब अफ वीरगञ्ज सेन्टल सिटीको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम मंगलबार वीरगञ्जस्थित चिल्ड्रेन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। पद हस्तान्तरणसँगै लायन देवन्ती शाहले क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ।

क्लबकी निवर्तमान अध्यक्ष लायन शुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पीएमसीसी डा. रमेश कुमार अग्रवाल तथा डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमल्सिना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी लायन श्याम गुप्ता, लायन रोशन गुप्ता, लायन सुनिता अग्रवाललगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्लबका पदाधिकारी तथा सदस्यहरू लायन सिल्की साह, लायन कविता खडका, लायन गुडी जोशी, रेखा ओझालगायतको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन शुशिला साहले अध्यक्ष–निर्वाचित लायन देवन्ती शाहलाई क्लबको मिनेट बुक, आधिकारिक अभिलेख तथा आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिनुभएको थियो। यससँगै लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।

नवनिर्वाचित अध्यक्ष लायन देवन्ती शाहले आगामी कार्यकालका लागि वार्षिक परियोजना तथा कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समुदायसँग सहकार्य गर्दै सेवा गतिविधिलाई अझ विस्तार गरिने बताउनुभयो।

कार्यक्रममा डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा पीएमसीसी डा. रमेश कुमार अग्रवालले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिनुका साथै क्लबले समाज सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा निवर्तमान अध्यक्ष लायन शुशिला साहले आफ्नो कार्यकाल सफल बनाउन सहयोग, साथ र विश्वास गर्ने सम्पूर्ण सदस्य, अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वले क्लबलाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन कविता खडकाले गर्नुभएको थियो। पद हस्तान्तरणसँगै लायन्स क्लब अफ वीरगञ्ज सेन्टल सिटीले नयाँ नेतृत्व, नयाँ ऊर्जा र सामाजिक सेवाप्रतिको थप सुदृढ प्रतिबद्धतासहित आगामी कार्यकालको औपचारिक सुरुवात गरेको विश्वास व्यक्त गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM