आज विद्यालयमा विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न भएका छन्। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत आयोजित चेस प्रतियोगिता मा कक्षा ५, ६ र ७ समावेश गरिएको समूह ‘ए’ मा कक्षा ७ ‘आर’ का मोहम्मद शाइल अन्सारी प्रथम, कक्षा ७ ‘जि’ का अरशद अन्सारी द्वितीय तथा कक्षा ६ ‘आर’ का शेख सर्फराज आलम तृतीय स्थान हासिल गर्न सफल भए।
त्यसैगरी, कक्षा ८, ९ र १० समावेश गरिएको समूह ‘बी’ मा कक्षा १० का आर्यन शाह प्रथम, कक्षा ८ ‘वाई’ का अशफाक हुसेन अन्सारी द्वितीय तथा कक्षा ९ ‘बी’ का सामीद परवेज तृतीय स्थान प्राप्त गर्न सफल भए। यस चेस प्रतियोगिता कार्यक्रमको संयोजन शिक्षकद्वय ईर्शाद अन्सारी तथा विक्रान्त ठाकुरले गर्नुभएको थियो।
यसै अवसरमा “स्पिड स्टार च्याम्प” अन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूबीच विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए। जसअन्तर्गत नर्सरी स्पिड स्टार का रूपमा सुहानी चौधरी (नर्सरी ‘वाई’), एल.के.जी. स्पिड स्टार का रूपमा अयुब अन्सारी (एल.के.जी. ‘आर’) तथा यू.के.जी. स्पिड स्टार का रूपमा मनिष मण्डल (यू.के.जी. ‘जि’) घोषित भए। साथै, कक्षा १ को नेपाली वाचन प्रतियोगितामा हर्षिका ठाकुर (कक्षा १ ‘जि’) स्पिड स्टारका रूपमा घोषित हुन सफल भइन्। यस कार्यक्रमको संयोजन शिक्षिकाद्वय लक्ष्मी श्रेष्ठ तथा निर्मला ढुंगेलले गर्नुभएको थियो।
कार्यक्रमको समापनमा सबै विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी (चक्रो) प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सहभागी सबै विद्यार्थीहरूको उत्साह र सक्रियताको उच्च प्रशंसा गरेको छ।
साथै, विद्यालयले आगामी भदौ १८ गते पुनः विशेष सह–पाठ्यक्रम गतिविधिहरू आयोजना गर्ने जानकारी दिएको छ। उक्त दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि राखी बनाउने प्रतियोगिता, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि मेहन्दी प्रतियोगिता तथा खुला हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिनेछ। विद्यालयले सम्बन्धित सबै विद्यार्थीहरूलाई उत्साहपूर्वक सहभागिता जनाई आफ्नो प्रतिभा प्रदर्शन गर्न हार्दिक अनुरोध गरेको छ।
विद्या सदन मा.वि.ले यस्ता सिर्जनात्मक, शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूमार्फत विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण व्यक्तित्व विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।























