२०८३ असार १९ गते शुक्रबार

स्थानीयको विरोधपछि वीरगञ्ज मेनरोडमा डोजर अभियान तत्कालका लागि स्थगित

अभिलाष गुप्ता
वीरगञ्ज, असार १९

त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन शुक्रबारदेखि पुनः सुरु गरिएको डोजर अभियान स्थानीयको विरोधपछि तत्कालका लागि स्थगित भएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गाप्रसादका अनुसार संरचना हटाउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेपछि उत्पन्न विवादका कारण डोजर अभियान तत्कालका लागि रोकिएको हो।

यसअघि गत वैशाख ६ र ७ गते पहिलो चरणमा सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा सडकको दायाँ–बायाँ २५/२५ मिटर सीमा क्षेत्रभित्र रहेका करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी संरचना स्वयं हटाउन आग्रह गरिएको थियो।

तर अधिकांश घरधनीले संरचना नहटाएपछि सडक विभागले शुक्रबारदेखि पुनः डोजर परिचालन गरी बाँकी संरचना हटाउने अभियान सुरु गरेको जनाएको छ।

यसअघि असार २ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमा क्षेत्रभित्र रहेका संरचना स्वयं हटाउन आग्रह गरेको थियो। अन्यथा सडक ऐन, २०३१ बमोजिम विभागले आफैं संरचना हटाउने चेतावनी दिएको थियो।

सडक विभागका अनुसार केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै हटाइएको छैन।

उता, मेनरोड क्षेत्रका घरधनीहरू भने वैशाखदेखि नै सडक विस्तारको विरोधमा आन्दोलनरत छन्। उनीहरूले मेनरोडलाई शहरी मार्गका रूपमा कायम राख्नुपर्ने तथा हालको सडक विस्तार योजना स्थगित गर्नुपर्ने माग गर्दै आएका छन्।

स्थानीयको विरोध र सडक विभागको सडक सीमा संरक्षण अभियानबीच वीरगञ्ज मेनरोड विस्तारको विषय अझै विवादित बनेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM