२०८३ असार १९ गते शुक्रबार

भारत विकास परिषद् रक्सौलको शाखास्तरीय कार्यशाला सम्पन्न, पाँच नयाँ सदस्य संगठनमा आबद्ध

अभिलाष गुप्ता
रक्सौल, असार १९

भारत विकास परिषद्, शाखा–रक्सौलले शुक्रबार लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा शाखास्तरीय कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा संगठनात्मक अनुशासन सुदृढ गर्ने, सेवा गतिविधि विस्तार गर्ने तथा परिषद्का पाँच मूल सिद्धान्त– सम्पर्क, सहयोग, संस्कृति, सेवा र समर्पण लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सो अवसरमा पाँच जना नयाँ सदस्यलाई परिषद्मा आबद्ध गराउँदै संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गराइएको थियो।

शाखा अध्यक्ष रजनीश प्रियदर्शी को अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्रीय तथा प्रान्तीय पदाधिकारीहरूले दीप प्रज्वलन गर्दै भारत माता र स्वामी विवेकानन्द को तस्बिरमा पुष्प अर्पण गरी कार्यशालाको उद्घाटन गरेका थिए। रक्सौलस्थित सरस्वती विद्या मन्दिरका विद्यार्थीहरूले वन्दे मातरम् तथा स्वागत गीत प्रस्तुत गरेका थिए।

स्वागत मन्तव्यमा अध्यक्ष प्रियदर्शीले भारत विकास परिषद् केवल सामाजिक संस्था नभई राष्ट्र निर्माणको अभियान भएको उल्लेख गर्दै प्रत्येक सदस्यले सेवा, संस्कृति र समर्पणको भावनासहित समाजको अन्तिम व्यक्तिसम्म पुग्ने लक्ष्यका साथ काम गर्नुपर्ने बताए।

कार्यशालाको पहिलो सत्रमा क्षेत्रीय वित्त सचिव के. के. चौधरी ले परिषद्को विचार, उद्देश्य, संगठनात्मक संरचना, शाखा सञ्चालन, नियम तथा प्रोटोकलबारे जानकारी गराएका थिए। प्रान्तीय अध्यक्ष पुतुल सिन्हा ले नैतिक मूल्य र संस्कार प्रवर्द्धनमा जोड दिइन् भने प्रान्तीय संगठन सचिव नवनीत शाण्डिल्य ले सेवा गतिविधिलाई परिषद्को पहिचानका रूपमा अघि बढाउन आग्रह गरे।

त्यसैगरी क्षेत्रीय सम्पर्क संयोजक अमरनाथ प्रसाद ले सदस्यता विस्तार अभियानलाई तीव्र बनाउन आह्वान गरे भने महिला सहभागिता सम्बन्धी सत्रमा धीरा गुप्ता ले महिलाको सक्रिय सहभागिता संस्थाको सफलताको प्रमुख आधार भएको बताइन्।

दोस्रो सत्रमा केशव कृष्ण ले वातावरण संरक्षणबारे प्रस्तुति दिएका थिए भने के. के. चौधरीले वित्तीय व्यवस्थापन, पारदर्शिता, संगठनात्मक जिम्मेवारी तथा परिषद्को मोबाइल एप र वेबसाइटको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिएका थिए। खुला छलफलमा सहभागीहरूले शाखाका गतिविधिलाई अझ प्रभावकारी बनाउने सुझावसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा पाँच नयाँ सदस्यलाई परिषद्मा औपचारिक रूपमा स्वागत गरिएको थियो। उनीहरूले सेवा, संस्कार, सहयोग, सम्बन्ध र समर्पणका आदर्शलाई आत्मसात् गर्दै समाजसेवामा सक्रिय रहने तथा संगठनात्मक अनुशासन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापन शाखा सचिव नरेश कुमार ले धन्यवाद ज्ञापनसहित गरेका थिए। राष्ट्रिय गानपछि सम्पन्न कार्यक्रमको अन्त्य सामूहिक भोजनसँग गरिएको थियो।

कार्यशालामा प्रान्तीय तथा क्षेत्रीय पदाधिकारी, शाखा पदाधिकारी, महिला सहभागिता प्रतिनिधि, विभिन्न गतिविधिका संयोजक तथा परिषद्का ठूलो संख्यामा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको जानकारी सम्पर्क संयोजक उमेश सिकारिया र सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफ ले दिएका हुन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM