अभिलाष गुप्ता
वीरगञ्ज, असार २१
शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय तथा परिणाममुखी बनाउने उद्देश्यका साथ विद्यार्थी मूल्याङ्कन विषयक एकदिने शिक्षक प्रशिक्षण (वर्कशप) आइतबार वीरगञ्जमा सम्पन्न भएको छ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) पर्साको आयोजनामा वीरगञ्जस्थित बीपीसी कलेज (पुरानो भवन) मा आयोजित “विद्यार्थी मूल्याङ्कन (Students Evaluation)” विषयक प्रशिक्षण कार्यक्रममा जिल्लाभरका विभिन्न सदस्य विद्यालयका करिब १८० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम नेशनल प्याब्सन पर्साका नगर अध्यक्ष सोनालाल पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव इन्द्रदेव साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी जिल्ला कोषाध्यक्ष राजेश कुमार लिम्बु, नगर उपाध्यक्ष सन्तोष साह, जिल्ला सदस्य शशी साह, रामप्रसाद चौधरी तथा रवि साह, साथै बहुदरमाई नगर अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
कार्यशालामा विद्यालयमा लागू गरिने विद्यार्थी मूल्याङ्कन प्रणाली, सिकाइ उपलब्धिको प्रभावकारी मूल्याङ्कन, परीक्षा व्यवस्थापन, निरन्तर मूल्याङ्कन, विद्यार्थीको सिकाइ सुधारका उपाय तथा आधुनिक मूल्याङ्कन पद्धतिका विषयमा विशेषज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीको सिकाइलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा मूल्याङ्कन गर्ने विधि, कक्षाकोठामा प्रयोग गर्न सकिने व्यवहारिक उपाय तथा समयअनुकूल मूल्याङ्कन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो।
प्रशिक्षणले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै कक्षाकोठामा गुणस्तरीय शिक्षण अभ्यासलाई प्रवर्द्धन गर्ने र विद्यार्थीको समग्र सिकाइ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको थियो।
कार्यक्रममा सहभागी शिक्षकहरूले यस्ता क्षमता अभिवृद्धिमूलक तालिमले शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिको वैज्ञानिक मूल्याङ्कन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रमलाई गणेश पुस्तक, वीरगञ्ज ले सहकार्य गरेको थियो। नेशनल प्याब्सन पर्साले आगामी दिनमा पनि शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि यस्ता प्रशिक्षण तथा कार्यशालालाई निरन्तरता दिने जनाएको छ।
























