अभिलाष गुप्ता
वीरगञ्ज, असार २२

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले सीमा निगरानी तथा चेकजाँच अभियानका क्रममा करिब रु. १२ लाख ६४ हजार भन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरीले वीरगञ्जको भन्सार मेनगेट, इदगाह चोक, बहुअरी तथा अलौ क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका किराना, कपडा, मेडिकल सामग्री, कस्मेटिक, रेनकोट, टाँगा–घोडीसहित अटो र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्। साथै, सीमाक्षेत्रमा हुने अवैध चोरीपैठारी र भन्सार छली नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने उनले बताए।























