अभिलाष गुप्ता
वीरगञ्ज, असार २३

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०२६ का लागि विभिन्न स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा नयाँ भर्ना खुला गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा मधेश प्रदेशकै अग्रणी सामुदायिक क्याम्पसमध्ये एक मानिने यस क्याम्पसले गुणस्तरीय, व्यावहारिक तथा रोजगारीमुखी शिक्षामार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा जोड दिएको जनाएको छ।
क्याम्पसका अनुसार यस वर्ष बीबीएस (BBS), बीएससी माइक्रोबायोलोजी (B.Sc. Microbiology), बीएड (B.Ed.), बीए (BA), एलएलबी (LL.B.) तथा एमबीएस (MBS) कार्यक्रमहरूमा भर्ना खुला गरिएको छ। अनुभवी प्राध्यापक, आधुनिक शैक्षिक वातावरण तथा प्रविधिमैत्री शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिने क्याम्पसले जनाएको छ।
क्याम्पसले उपलब्ध गराएको जानकारीअनुसार यहाँ आधुनिक कम्प्युटर प्रयोगशाला, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, एक लाखभन्दा बढी पुस्तकसहितको पुस्तकालय, निःशुल्क वाइफाइ, करिब २० किलोमिटर क्षेत्रसम्म निःशुल्क बस सेवा तथा करिअर परामर्शलगायतका सुविधा उपलब्ध छन्। साथै खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि विशेष ध्यान दिइने जनाइएको छ।
क्याम्पसले भर्नाका लागि एसईई तथा प्लस–टुको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र (लागू हुनेका लागि), नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका फोटो तथा समकक्षता प्रमाणपत्र (आवश्यक परेमा) पेश गर्नुपर्ने जनाएको छ।
हरि खेतान बहुमुखी क्याम्पस मधेश प्रदेशको पहिलो QAA मान्यता प्राप्त सामुदायिक क्याम्पस भएको दाबी गर्दै शैक्षिक उत्कृष्टता, अनुशासित वातावरण, अनुभवी शिक्षक तथा विद्यार्थीमैत्री व्यवस्थापनका कारण हरेक वर्ष विद्यार्थीको आकर्षण बढ्दै गएको क्याम्पसले जनाएको छ।
भर्ना सम्बन्धी विस्तृत जानकारी तथा आवेदनका लागि इच्छुक विद्यार्थीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित क्याम्पस प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। साथै क्याम्पसको आधिकारिक वेबसाइटमार्फत पनि थप जानकारी प्राप्त गर्न सकिने जनाइएको छ।























