२०८३ श्रावण १० गते आईतवार

किस्ताबन्दीमा सामान दिने प्रलोभन देखाएर करोडौँ ठगी गरेको आरोप, ‘अभियान डिजिटल वल्र्ड’का सञ्चालकविरुद्ध सामूहिक उजुरी


वीरगञ्ज, असार २५

किस्ताबन्दीमा विभिन्न घरायसी तथा विद्युतीय सामग्री उपलब्ध गराउने भन्दै सञ्चालनमा आएको अभियान डिजिटल वल्र्डका सञ्चालकविरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दर्ता गरिएको छ।

वीरगञ्जका सोनालाल पटेल, रामजी साह कलवार र जितेन्द्र पाण्डेयलगायतका पीडितले संस्थाका सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ, विष्णु काफ्ले र ऋषिकान्त गुप्ताविरुद्ध असार २३ गते सामूहिक रूपमा उजुरी दिएका हुन्।

पीडितहरूका अनुसार करिब तीन वर्षअघि सञ्चालनमा आएको उक्त संस्थाले किस्ताबन्दीमार्फत घरायसी तथा विद्युतीय सामग्री उपलब्ध गराउने भन्दै प्रत्येक सदस्यबाट ३१ हजार ७२५ रुपैयाँका दरले रकम संकलन गरेको थियो। सुरुका चरणमा केही सदस्यलाई १२ हजारदेखि १५ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइए पनि अधिकांश सदस्यले हालसम्म कुनै पनि सामान प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।

उजुरीमा उल्लेख भएअनुसार संस्थाका सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले लामो समयदेखि सम्पर्कविहीन रहेका छन्। अर्का साझेदार ऋषिकान्त गुप्ता भने वीरगञ्जमै रहे पनि पीडितलाई सामान उपलब्ध गराउने वा समस्या समाधान गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाइएको छ। संस्थाका लेखापाल तथा सञ्चालक दीपेश बर्नवालका छोरा योगेश बर्नवालको नाम पनि उजुरीमा समावेश गरिएको एक बजार प्रतिनिधिले जानकारी दिएका छन्।

पीडितहरूको भनाइअनुसार सञ्चालकहरूबीचको आन्तरिक विवाद, आर्थिक अनियमितता तथा व्यवस्थापन कमजोरीका कारण संस्थाको सेवा प्रभावित भएको हो। हजारौँ सदस्यबाट रकम संकलन गरिए पनि संस्थाले गरेको प्रतिबद्धताअनुसार सामान वितरण नगर्दा सर्वसाधारण आर्थिक तथा मानसिक रूपमा पीडित बनेका छन्।

संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू ठगिएको बताएका छन्। संस्थाप्रति विश्वास गरेर सर्वसाधारणलाई सदस्य बनाएको भए पनि अहिले सामान वितरण नभएपछि सेवाग्राहीको गालीगलौज, धम्की तथा मानसिक दबाब सहनुपरेको उनीहरूको गुनासो छ। आफूहरूले संकलन गरेको रकम, वितरण हुनुपर्ने सामान तथा हिसाब–किताबसमेत नपाएको उनीहरूले बताएका छन्।

पीडित सेवाग्राही तथा बजार प्रतिनिधिहरूले आफूहरूबाट संकलन गरिएको सम्पूर्ण रकम फिर्ता गराइदिन, घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

यता जिल्ला प्रशासन कार्यालय पर्साले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रशासनका अनुसार घटनाको वास्तविक अवस्था, पीडितको संख्या, संकलित रकम तथा आर्थिक क्षतिको यथार्थ विवरण अनुसन्धान सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM