२०८३ श्रावण १० गते आईतवार

भारत विकास परिषद्को ६४औँ स्थापना दिवसमा रक्सौलमा सेमिनार तथा वृक्षारोपण, वातावरण संरक्षणको सामूहिक संकल्प

अभिलाष गुप्ता
रक्सौल

भारत विकास परिषद्, शाखा–रक्सौलको आयोजनामा परिषद्को ६४औँ स्थापना दिवसको अवसरमा शुक्रबार ऐतिहासिक सौनाहा माई मन्दिर परिसरमा सेमिनार तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा औषधीय, फलफूल दिने, छायादार तथा अक्सिजन उत्सर्जन गर्ने विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै वातावरण संरक्षण र हरित भारत निर्माणको सामूहिक संकल्प गरिएको थियो।

कार्यक्रमको शुभारम्भ भारतमाता तथा स्वामी विवेकानन्दको तस्बिरमा माल्यार्पण तथा सामूहिक रूपमा “वन्दे मातरम्” गाएर गरिएको थियो। त्यसपछि मन्दिरका पुजारी चन्द्रिका दासको समन्वयमा वैदिक मन्त्र उच्चारणका साथ वृक्षारोपण गरिएको थियो। परिषद्का पदाधिकारीहरूले पुजारी चन्द्रिका दासलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष रजनीश प्रियदर्शीले भारत विकास परिषद्को ६४ वर्षको यात्रा सेवा, संस्कार, समर्पण र राष्ट्र निर्माणप्रतिको दृढ प्रतिबद्धताको प्रतीक भएको बताए। उनले निरन्तर समाजहितमा कार्यरत रहनु नै परिषद्को बलियो विचारधारा र समर्पित कार्यकर्ताको परिचायक भएको उल्लेख गरे।

शाखाका वातावरण संयोजक विजय कुमार साह र संयोजक अजय कुमारले संयुक्त रूपमा परिषद्को स्थापना इतिहासबारे जानकारी गराउँदै सन् १९६३ मा स्वामी विवेकानन्दको जन्मशताब्दीका अवसरमा डा. सुरज प्रकाश, लाला हंसराज गुप्ता लगायत राष्ट्रप्रेमी व्यक्तित्वहरूको पहलमा परिषद्को स्थापना भएको स्मरण गराए। उनीहरूले परिषद्ले आजसम्म सेवा, संस्कार, सांस्कृतिक जागरण र राष्ट्र निर्माणका आदर्शलाई आत्मसात् गर्दै समाजका सबै वर्गको उत्थानमा योगदान पुर्‍याउँदै आएको बताए।

सेमिनारमा सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफ र संस्कृति संयोजक नितेश कुमार सिंहले वातावरण संरक्षण वर्तमान समयको अपरिहार्य आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको नैतिक दायित्वसमेत भएको बताए। उनीहरूले वृक्षारोपण अभियानले स्वच्छ, स्वस्थ र हरित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै प्रत्येक नागरिकलाई बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानमा सक्रिय हुन आग्रह गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले सकेसम्म धेरै बिरुवा रोप्ने, तिनको संरक्षण गर्ने तथा परिषद्को मूल मन्त्र “सम्पर्क, सहयोग, संस्कार, सेवा र समर्पण” लाई समाजमा थप प्रभावकारी रूपमा फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सुनील कुमार, उमेश सिकरिया, बिमल कुमार सर्राफ, नितेश कुमार सिंह, विजय कुमार साह, अरविन्द जायसवाल, मनोज कुमार, विनोद कुमार, पुजारी चन्द्रिका दास, राजु गुप्ता, कृष्ण प्रसाद लगायत परिषद्का पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमसम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले दिएका हुन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM