अभिलाष गुप्ता
वीरगञ्ज, असार २६

सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई लक्षित गर्दै गालीगलौज र अमर्यादित अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै कानुनी कारबाहीको माग गरेको छ।
नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई भेटेर आदर्श मिश्रविरुद्ध आवश्यक कानुनी कारबाहीको माग गर्दै लिखित निवेदन बुझाएको हो।
महासंघले दिएको निवेदनमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमार्फत पत्रकार समुदायलाई अपमानित गर्ने, गालीगलौज गर्ने तथा पत्रकारिताप्रति नकारात्मक र अमर्यादित टिप्पणी गरिएको उल्लेख गर्दै यस्ता गतिविधिले स्वतन्त्र प्रेसको सम्मानमा गम्भीर चोट पुर्याएको जनाएको छ।
महासंघले कानुनी शासन भएको मुलुकमा कुनै पनि व्यक्ति वा समूहले अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठामा आँच पुग्ने, गालीगलौज गर्ने वा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि गर्न नपाउने उल्लेख गर्दै सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम शीघ्र कारबाही गर्न माग गरेको छ।
पत्रकार महासंघ पर्साले पत्रकारहरूको सम्मान, पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाउँदै यस्ता अमर्यादित गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
उक्त अवसरमा पर्साका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त निवेदनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
























