अभिलाष गुप्ता
वीरगञ्ज/रक्सौल, असार २८

भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रक्सौल प्रहरीले ठूलो सफलता हासिल गरेको छ। प्रहरीले ९.६० ग्राम ब्राउन सुगरसहित तीन जना लागूऔषध तस्करलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई जना नेपाली नागरिक तथा एक जना भारतको रक्सौल निवासी रहेका छन्।
रक्सौलका एसडीपीओ मनीष आनन्द तथा रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा गठन गरिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक तथा नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो। घेराबन्दीका क्रममा तीनै जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९.६० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बागमती प्रदेशको मकवानपुर जिल्ला, हेटौँडाका २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन समेत बरामद गरेको छ। बरामद गरिएका मोबाइलको कल डिटेल तथा अन्य डिजिटल प्रमाणको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध रक्सौल थानामा भारतको एनडीपीएस (Narcotic Drugs and Psychotropic Substances) ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।
एसडीपीओ मनीष आनन्दका अनुसार प्रहरीले अब यस घटनासँग सम्बन्धित सम्पूर्ण लागूऔषध सञ्जालको अनुसन्धान तीव्र बनाएको छ। बरामद गरिएको ब्राउन सुगर कहाँबाट ल्याइएको थियो, कसलाई आपूर्ति गर्ने योजना थियो र यस गिरोहको मुख्य सञ्चालक को हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए।
भारत–नेपाल खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी अझ कडा बनाएको जनाउँदै प्रहरीले सीमाक्षेत्रमा ‘जिरो टोलरेन्स’ नीति अन्तर्गत यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ।
























