२०८३ श्रावण १५ गते शुक्रबार

वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन​अभिलाष गुप्तावीरगञ्ज १५ साउन

वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको एक भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले प्रमुख अतिथिको रूपमा उक्त दुवै भवनको समुद्घाटन गर्नुभएको हो।

​समुद्घाटन समारोहमा मन्तव्य राख्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नं. २६ का जनताको सेवामा आफू सधैं तत्पर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मसँग हुने सम्पूर्ण सहयोग यस वडावासीका लागि गर्नेछु। आगामी दिनमा यस वडावासीको लागि हुने निर्माण तथा विकास कार्यमा म सदैव अगाडि रहनेछु।”
​कार्यक्रममा बोल्दै वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्राले भवन निर्माणमा कार्यवाहक नगर प्रमुख आलमले ठूलो सहयोग गर्नुभएको बताउनुभयो। करिब १ करोड रुपैयाँको बजेटमा निर्माण सम्पन्न भएका यी दुवै भवन कार्यवाहक नगर प्रमुखकै विशेष सहयोगका कारण सम्भव भएको बताउँदै अध्यक्ष मिश्राले भन्नुभयो, “उहाँको सहयोगबिना यो भवन निर्माण हुन सम्भव थिएन, यसको सम्पूर्ण श्रेय कार्यवाहक नगर प्रमुख इम्तियाज आलमलाई दिन चाहन्छु र सँगै हृदयदेखि धन्यवाद पनि व्यक्त गर्दछु।”

​यसैगरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले वडाको आफ्नै सुविधासम्पन्न भवन देख्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो। उहाँले वीरगञ्ज महानगरपालिका अन्तर्गतका ३२ वटै वडाका आफ्नै कार्यालय भवन हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो।

​उद्घाटन समारोहमा विभिन्न वडाका वडा अध्यक्षहरू, नागरिक समाजका अगुवा, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। आफ्नै वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण भएपछि स्थानीय सेवाग्राहीहरूले थप सहज र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM