२०८३ श्रावण १५ गते शुक्रबार

विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

अभिलाष गुप्ता
साउन १५

विश्वव्यापी पत्रकारिता सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित अन्तरमहादेशीय पत्रकार सञ्जाल (आईसीजे) ग्लोबल मिडिया ग्रुप र सार्क पत्रकार मञ्च बीच तीन वर्षे रणनीतिक साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा ले अमेरिकाको न्युयोर्कबाट तथा अन्तरमहादेशीय पत्रकार सञ्जाल (आईसीजे) ग्लोबल मिडिया ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत Saša Dobrijević ले सर्बियाको बेलग्रेडबाट हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार दुवै संस्थाले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, व्यावसायिक मापदण्डको अभिवृद्धि तथा दक्षिण एसिया र विश्वभरका पत्रकारहरूबीच सहकार्य विस्तार गर्न संयुक्त रूपमा काम गर्नेछन्। साथै, प्रेस स्वतन्त्रताको संरक्षण, जिम्मेवार पत्रकारिताको विकास तथा दक्षिण एसियाली पत्रकारहरूको विश्वव्यापी पहुँच र पहिचान अभिवृद्धिमा विशेष जोड दिइनेछ।

सम्झौताअन्तर्गत सार्क पत्रकार मञ्च अन्तरमहादेशीय पत्रकार सञ्जालको संस्थागत मित्र सञ्जालमा आबद्ध हुनेछ। यससँगै दुवै संस्थाले एकअर्काको आधिकारिक प्रतीकचिन्ह र वेबसाइटको ठेगाना आफ्ना डिजिटल माध्यममा समावेश गर्नेछन्। साथै, सार्क पत्रकार मञ्चका गतिविधि, उपलब्धि र पहललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आईसीजेको डिजिटल मञ्चमा संस्थागत परिचयसमेत तयार गरिनेछ।

यस साझेदारीले सार्क पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरूलाई आईसीजेको सदस्य बन्न प्रोत्साहन गर्नेछ। सदस्य बनेपछि उनीहरूले अन्तर्राष्ट्रिय सञ्चार सञ्जालमा पहुँच, व्यावसायिक तालिम, प्रकाशनका अवसर, अन्तर्राष्ट्रिय प्रेस परिचयपत्र, विश्वव्यापी सञ्चार छलफलमा सहभागिता तथा अन्तरमहादेशीय पत्रकार सञ्जालद्वारा प्रदान गरिने सम्मानका लागि योग्य हुने अवसर प्राप्त गर्नेछन्। विशेष सदस्यहरूले खोजमूलक तथा विशेष समाचार सामग्री अन्तर्राष्ट्रिय रूपमा वितरण गर्न आईसीजेको सामग्री आदान–प्रदान प्रणालीमा समेत पहुँच पाउनेछन्।

समझदारी पत्रले दक्षिण एसिया तथा विश्वभर पत्रकारिताको ऐक्यबद्धता सुदृढ गर्न संयुक्त परियोजना सञ्चालन, सूचना आदानप्रदान, अनलाइन अन्तरक्रिया तथा समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने आधार तय गरेको छ। साथै, यो समझदारी सद्भावमा आधारित सहकार्य भएको र यसबाट कुनै कानुनी, आर्थिक वा व्यावसायिक दायित्व सिर्जना नहुने स्पष्ट गरिएको छ।

प्रारम्भिक रूपमा तीन वर्षका लागि लागू हुने यो सम्झौता आपसी लिखित सहमतिमा नवीकरण गर्न सकिनेछ। कुनै पनि पक्षले ६० दिनअघि लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

यस समझदारीलाई अन्तर्राष्ट्रिय पत्रकारिता सहकार्य विस्तार, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, मर्यादित पत्रकारिता र व्यावसायिक विकासलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसबाट सार्क क्षेत्रका पत्रकारहरू विश्वव्यापी सञ्चार सञ्जालसँग अझ प्रभावकारी रूपमा जोडिने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM