२०८३ बैशाख २६ गते शनिबार

गण्डक चोकमा ‘लापसे’ चेकजाँचसहित ट्राफिक जनचेतना कार्यक्रम, दुई चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला

अभिलाष गुप्ता
वीरगञ्ज, २५ वैशाख

वीरगञ्जको गण्डक चोकमा सवारी चालकहरूको ‘लापसे’ (लागू पदार्थ सेवन) चेकजाँच गर्दै ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा तथा स्थानीय चिकित्सकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सवारी चालकहरूको स्वास्थ्य परीक्षणसँगै लागू पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा विशेष चेकजाँच गरिएको थियो। सवारी चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा हुन सक्ने दुर्घटनाको जोखिमबारे सचेत गराइएको थियो।

कार्यक्रममा वीरगञ्जस्थित नारायणी अस्पताल का चिकित्सकहरूको विशेष सहभागिता रहेको थियो। चिकित्सकीय टोलीले चालकहरूको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै लागू पदार्थ सेवनसम्बन्धी प्रारम्भिक जाँचसमेत गरेको जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल ले चालकहरूलाई सुरक्षित यात्राका उपाय, ट्राफिक नियमको महत्व तथा जिम्मेवार सवारी सञ्चालनबारे जानकारी दिएका थिए। उनले लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा आफ्नै मात्र नभई अन्य सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्ता कार्य नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने बताए।

चेकजाँचका क्रममा दुई जना सवारी चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात संस्कृतिको विकास गर्ने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM