अभिलाष गुप्ता
वीरगञ्ज, ३० वैशाख

वीरगञ्ज बजार क्षेत्रमा सडक विस्तार अभियानअन्तर्गत व्यवसायी तथा स्थानीयवासीलाई पर्याप्त समय नदिई बजार खाली गराउन खोजिएको भन्दै प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले संसदमा गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले प्रभावित पक्षलाई उचित समय, वैकल्पिक व्यवस्थापन तथा स्पष्ट योजनासहित मात्रै सडक विस्तार प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कानुले वीरगञ्जको वर्तमान अवस्था अत्यन्त संवेदनशील बनेको उल्लेख गर्दै सडक विस्तारको नाममा व्यापारीहरू त्रसित बनेको बताए। उनले वीरगञ्जको व्यापारिक गतिविधि नै प्रभावित भएको उल्लेख गर्दै “बिरगञ्जमा व्यापारको मेरुदण्ड नै भाँचिएको अवस्था छ” भन्ने टिप्पणी गरे।
सांसद कानुले सरकारी जग्गा कुनै व्यक्ति, दल, पार्टी वा पहुँचवालाको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै त्यो सम्पूर्ण जनताको साझा सम्पत्ति तथा भावी पुस्ताको अधिकार भएको धारणा राखे। उनले देशका विभिन्न स्थानमा राजनीतिक दल तथा भूमाफियाको दबाबमा सरकारी जग्गा अतिक्रमण भएको दाबी गर्दै सरकारले निष्पक्ष ढंगले समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले सडक विस्तारजस्तो दीर्घकालीन योजनामा स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय नगरी बलपूर्वक प्रक्रिया अघि बढाउँदा सामाजिक तथा आर्थिक समस्या उत्पन्न हुने चेतावनी दिए। प्रभावित व्यवसायीलाई स्थानान्तरणका लागि पर्याप्त समय, वैकल्पिक व्यवस्था तथा क्षतिपूर्तिको विषयमा समेत सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
वीरगञ्ज बजार क्षेत्रमा पछिल्लो समय सडक विस्तारको विषयलाई लिएर व्यापारी, स्थानीयवासी तथा सरोकारवालाबीच असन्तुष्टि बढिरहेको छ। कतिपय व्यवसायीहरूले पर्याप्त सूचना तथा तयारीबिना पसल हटाउन दबाब दिइएको गुनासो गर्दै आएका छन्। सांसद कानुको अभिव्यक्तिपछि सडक विस्तारको विषय पुनः राजनीतिक तथा सार्वजनिक बहसको केन्द्रमा आएको छ।








