२०८३ जेष्ठ १ गते शुक्रबार

श्री बौद्धिमाई मन्दिरमा जेठ २ गते विशेष साधारण सभा तथा अधिवेशन हुने

अभिलाष गुप्ता
वीरगन्ज ०१ जेष्ठ

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री बौद्धिमाई मन्दिर परिसरमा आगामी जेठ २ गते शनिबार विशेष साधारण सभा तथा अधिवेशन आयोजना हुने भएको छ। श्री बौद्धिमाई क्षेत्र विकास सञ्चालन समितिले संस्थाको संस्थागत सुदृढीकरण, पारदर्शी व्यवस्थापन तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यका साथ अधिवेशन आह्वान गरेको हो।

समितिद्वारा जारी आधिकारिक सूचनाअनुसार अधिवेशन बिहान ठीक ७ बजे मन्दिर परिसरमै सञ्चालन हुनेछ। समितिले विधानअनुसार मन्दिरको समग्र विकास, भावी योजना तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अधिवेशनमार्फत विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिने जनाएको छ।

अधिवेशनको मुख्य कार्यसूचीअन्तर्गत अघिल्लो कार्यकालको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, नयाँ कार्यसमिति चयन गर्ने तथा मन्दिरको धार्मिक, सांस्कृतिक र भौतिक विकाससँग सम्बन्धित विविध विषयमा छलफल गरिने उल्लेख गरिएको छ।

समितिका अध्यक्षद्वारा जारी सूचनामा श्री बौद्धिमाई मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई वीरगन्ज क्षेत्रकै ऐतिहासिक तथा सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएकाले यसको संरक्षण, व्यवस्थापन र विकासमा सम्पूर्ण समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

त्यसैगरी मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना निर्माणका विषयमा समेत अधिवेशनमा विशेष छलफल हुने जनाइएको छ।

समितिले मन्दिरको आर्थिक पारदर्शिता, संरचनागत सुधार, भक्तजनको सुविधामा वृद्धि तथा धार्मिक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ नेतृत्व चयनलाई पनि महत्वपूर्ण रूपमा हेरिएको जनाएको छ।
अधिवेशनमा समितिका सम्पूर्ण पदाधिकारी, आजीवन सदस्य, स्थानीय बुद्धिजीवी, भक्तजन, समाजसेवी तथा सरोकारवाला महानुभावहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। समितिले सबैलाई समयमै उपस्थित भई सुझाव, सल्लाह तथा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध समेत गरेको छ।

स्थानीयवासीका अनुसार श्री बौद्धिमाई मन्दिर वीरगन्जको पुरानो धार्मिक स्थलमध्ये एक मानिन्छ। विशेष पर्व तथा धार्मिक अवसरमा यहाँ ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ। पछिल्ला वर्षहरूमा मन्दिर परिसरको सौन्दर्यीकरण तथा व्यवस्थापनमा समेत विभिन्न सुधारका काम हुँदै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM