२०८३ जेष्ठ २ गते शनिबार

क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न, आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अभिलाष गुप्ता
वीरगञ्ज, ०२ जेष्ठ

क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रलाई थप सशक्त, जिम्मेवार र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोकर्ण डाँगीले युवा पत्रकारहरूको सक्रियता लोकतन्त्र र समाजका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितालाई आत्मसात् गर्न युवा पत्रकारहरूलाई आग्रह गरे।

उनले भने, “पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र होइन, समाजलाई सही दिशा दिने महत्वपूर्ण जिम्मेवारी पनि हो। युवा पत्रकारहरूले तथ्यमा आधारित, मर्यादित र उत्तरदायी पत्रकारिता गर्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।”

कार्यक्रम क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, श्याम बञ्जारा, दीपक शाक्य, नीरज पिठाकोटे, मनोज पटेल, राजेन्द्र प्रसाद कोईराला, हरि गौतम तथा अशोक वैद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित, तथ्यपरक तथा जिम्मेवार बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्न सबै पत्रकार एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष आनन्द पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन महासचिव विरेन्द्र साहले गरेका थिए।साधारणसभापछि सम्पन्न बन्दसत्रबाट निवर्तमान उपाध्यक्ष आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।

नवगठित कार्यसमितिले पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा व्यावसायिक पत्रकारिताको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM