अभिलाष गुप्ता
वीरगञ्ज ०३ जेष्ठ

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिविम्बित (रिफ्लेक्टिभ) स्टिकर टाँस्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “दुर्घटना न्यूनीकरणमा हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम माईस्थानदेखि घण्टाघर चौकसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रम वीरगञ्ज युवा समाजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा विशेष गरि साईकलको पछाडि लाईट नभएकोले साइकल एवं विभिन्न सवारी साधनमा रातिको समयमा सहज रूपमा देखिने प्रतिविम्बित स्टिकर टाँसिएको थियो। आयोजकका अनुसार यस अभियानले विशेषगरी रातिको समयमा हुने सवारी दुर्घटना कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रम वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सहभागिता रहेको थियो।
त्यसैगरी, वीरगञ्ज युवा समाजका सल्लाहकार मार्टिन मोक्तानको उपस्थिति रहेको थियो। कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,संस्थाकी उपाध्यक्ष अस्मिता गौतम,संस्थाका सचिव विनोद धिमाल लगाएत पदाधिकारीहरुको सहभागीता रहेको थियोे।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायसँगै नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले भने, “सवारी चालक, पैदलयात्री र सर्वसाधारण सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना धेरै हदसम्म कम गर्न सकिन्छ। यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुन्छन्।”
त्यसैगरी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीले सडक सुरक्षामा युवाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै दुर्घटना न्यूनीकरण सम्भव हुने धारणा राखे।
वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाले समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताए।








