अभिलाष गुप्ता
वीरगञ्ज, ०३ जेठ

नेपाल–भारत सीमाअन्तर्गत वीरगञ्ज–रक्सौल मितेरीपुल नाकाबाट नेपाल हुँदै भारत प्रवेश गर्न खोजेका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले ती नागरिकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा ५७ वर्षीय चिनियाँ नागरिक यहु सिजैङ रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी शनिबार नेपालबाट भारततर्फ प्रवेश गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।
उनीमाथि अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आशंका गरिएको छ। पक्राउपछि उनलाई रक्सौलको हरैया थाना लगिएको छ, जहाँ भारतीय सुरक्षा तथा अनुसन्धान निकायले सोधपुछ गरिरहेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको यात्रा विवरण, नेपाल बसाइ, भारत प्रवेशको उद्देश्य तथा सम्भावित सम्पर्कबारे अनुसन्धान भइरहेको छ। घटनालाई संवेदनशील रूपमा हेर्दै भारतीय सुरक्षा निकायले विभिन्न पक्षबाट अनुसन्धान अगाडि बढाएको बताइएको छ।
सीमा क्षेत्रमा पछिल्लो समय सुरक्षा सतर्कता बढाइएका बेला विदेशी नागरिक पक्राउ परेपछि वीरगञ्ज–रक्सौल नाकामा निगरानी थप कडा पारिएको छ। भारतीय सुरक्षा निकायले सीमा क्षेत्र हुँदै हुने आवतजावतमा विशेष निगरानी गरिरहेको जनाएको छ।
हालसम्म पक्राउ परेका चिनियाँ नागरिकको उद्देश्यबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन भने अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।









