२०८३ जेष्ठ ११ गते सोमबार

बिपिसी कलेज द्वारा कक्षा १२ को फेयरवेल कार्यक्रम भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, ०४ जेष्ठ

वीरगञ्जस्थित बिपिसी कलेजमा कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा आयोजित फेयरवेल कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिका रूपमा अमित हर्लालका, मुशकान श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता कलेजका संस्थापक तथा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य ले गरेका थिए।

यस अवसरमा प्राध्यापक हरि रत्न तुलाधर, बासु कर्ण, युगल किशोर लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज चौधरीले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न अनुशासन, मेहनत र संस्कार आवश्यक रहेको बताए।

उनले विद्यार्थीहरूलाई जीवनभर कहिल्यै नबिर्सनुपर्ने दुई महत्वपूर्ण व्यक्तित्वबारे स्मरण गराउँदै भने, “जिन्दगीमा दुई जनालाई कहिल्यै नबिर्सनु होला—आफ्ना बुवा–आमा र आफ्ना गुरु शिक्षकलाई।” उनले अभिभावक र शिक्षकको योगदानकै कारण विद्यार्थी सही मार्गमा अघि बढ्न सक्ने उल्लेख गर्दै सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका अध्यक्ष डा. दिपक शाक्यले कलेजले स्थापना कालदेखि नै अनुशासन, गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए। उनले केवल किताबी ज्ञान मात्र नभई नैतिक शिक्षा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वसमेत कलेजले सिकाउँदै आएको उल्लेख गरे। विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै उनले कलेजले उत्पादन गरेका विद्यार्थीहरू समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। फेयरवेल कार्यक्रममा भावुक वातावरणसमेत देखिएको थियो भने विद्यार्थीहरूले आफ्ना शिक्षक तथा साथीहरूसँगका अविस्मरणीय क्षणहरू सम्झिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM