२०८३ जेष्ठ ११ गते सोमबार

अखिल भारतीय मारवाड़ी महिला सम्मेलनद्वारा अनुमण्डलीय अस्पताल परिसरमा वृक्षारोपण

अभिलाष गुप्ता
रक्सौल, ०४ जेठ

अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल इकाइको आयोजनामा वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले रक्सौल अनुमण्डलीय अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमअन्तर्गत सम्मेलनका सदस्यहरूले अस्पताल परिसरमा अक्सिजन उत्सर्जन गर्ने, छायादार तथा औषधीय गुणयुक्त विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वातावरण संरक्षण तथा संवर्द्धनको सन्देश दिएका थिए।

यस अवसरमा सम्मेलनको तर्फबाट अस्पतालकी उपाधीक्षक डॉ. स्वाती सपन लाई सम्मानस्वरूप अंगवस्त्र प्रदान गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै डा. स्वाती सपनले वर्तमान समयमा वातावरण संरक्षण सबैभन्दा ठूलो आवश्यकता बनेको बताइन्। उनले बढ्दो प्रदूषण तथा रुखहरूको अन्धाधुन्ध कटानीका कारण मौसममा व्यापक परिवर्तन देखिन थालेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले वृक्षारोपणप्रति सचेत हुनुपर्ने धारणा व्यक्त गरिन्।

हरियालीले वातावरण शुद्ध बनाउनुका साथै अस्पतालजस्ता स्थानमा बिरामीलाई सकारात्मक ऊर्जा र स्वच्छ वातावरण प्रदान गर्ने उनको भनाइ थियो।
सम्मेलनकी अध्यक्ष सोनू काबराले प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको नियमित संरक्षण गरे आगामी पुस्ताले स्वच्छ, सुरक्षित तथा स्वस्थ वातावरण प्राप्त गर्न सक्ने बताइन्। उनले बिरुवाको संरक्षण र संवर्द्धनका लागि सामूहिक जिम्मेवारी निर्वाह गर्न सबैलाई आग्रह गरिन्।

कार्यक्रमका क्रममा सम्मेलनका सदस्यहरूले अस्पतालमा आउने बिरामी तथा उनीहरूका आफन्तलाई पनि बिरुवा रोप्न तथा संरक्षण गर्न प्रेरित गरेका थिए। उनीहरूले रुख–बिरुवाले वातावरण शुद्ध बनाउनुका साथै मानव जीवनका लागि अक्सिजनको प्रमुख स्रोत भएको उल्लेख गरे।

यसै अवसरमा अनुमण्डलीय अस्पतालमा कार्यरत डॉ. विजय कुमार ले महिला सम्मेलनको पहलको प्रशंसा गर्दै सामाजिक संस्थाहरूको सहकार्यबाट मात्रै वातावरण संरक्षण अभियान सफल हुने बताए। उनले अस्पताल परिसरमा हरियाली बढ्दा बिरामीहरूलाई मानसिक शान्ति तथा सकारात्मक वातावरण प्राप्त हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा समिति सदस्य तथा अस्पतालका कर्मचारीहरूले बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सामाजिक चेतना, उत्साह तथा वातावरण संरक्षणको सन्देशले भरिपूर्ण बनेको थियो।

कार्यक्रम सफल बनाउन अध्यक्ष सोनू काबरा, अञ्चल प्रमुख वीणा गोयल, कोषाध्यक्ष संगीता रुंगटा, वातावरण प्रमुख रेनू रुंगटा, अनुराधा शर्मा, आशा केशान, बबिता रुंगटा, मधु अग्रवाल तथा सुनीता शाहलगायत सदस्यहरूको उल्लेखनीय भूमिका रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM