अभिलाष गुप्ता
वीरगञ्ज, ०६ जेठ

वीरगन्ज महानगरपालिकाले मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना प्रयोजनका लागि महानगरपालिका वडा नं. २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएको छ। शिक्षा क्षेत्रको विकास तथा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित महानगरपालिकाले उक्त महत्वपूर्ण निर्णय गरेको हो।
नगर प्रमुख राजेशमान सिंह र मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा महानगरपालिका बोर्डका सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यो निर्णयले वीरगञ्जलाई शैक्षिक हबको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले वीरगञ्ज महानगरपालिकाले विश्वविद्यालयको भविष्य र समग्र शिक्षा क्षेत्रको विकासलाई केन्द्रमा राखेर गरेको सहयोग ऐतिहासिक र दूरदर्शी कदम भएको बताए। उनले विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना भएपछि मधेश प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्न सहज हुने उल्लेख गरे।
उपकुलपति शाक्यले भने, “वीरगञ्ज महानगरपालिकाले शिक्षा क्षेत्रप्रति देखाएको प्रतिबद्धता अत्यन्त प्रशंसनीय छ। विश्वविद्यालयको आफ्नै केन्द्रीय संरचना निर्माण भएपछि अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सहज हुनेछ। यसले मधेश प्रदेशका विद्यार्थीहरूलाई आफ्नै प्रदेशमै उत्कृष्ट उच्च शिक्षा हासिल गर्ने वातावरण तयार गर्नेछ।”
उनले महानगरपालिका बोर्डका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा विश्वविद्यालय र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
नगर प्रमुख राजेशमान सिंहले पनि शिक्षा, अनुसन्धान तथा मानव संसाधन विकासका लागि महानगरपालिका सदैव सकारात्मक रहेको उल्लेख गर्दै मधेश विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न महानगर प्रतिबद्ध रहेको बताए।
स्थानीय बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूले महानगरपालिकाको यो निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्। उनीहरूका अनुसार मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरगञ्जमा स्थापना भएपछि शहरको शैक्षिक, आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।









