अभिलाष गुप्ता
पर्सा, ११ जेठ

पर्साको जिराभवानी गाउँपालिका वडा नं. ४ सुपौली निवासी जोगीन्दर महराकी छोरीको निधनपछि हुन लागेको श्राद्ध कार्यका लागि विभिन्न खाद्यान्न सामग्री तथा लत्ताकपडाको सहयोग गरिएको छ। समाजसेवी तथा नेता बृजेश्वर प्रसाद चौधरीको तर्फबाट पीडित परिवारलाई राहतस्वरूप खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएको हो।
सहयोगस्वरूप १ बोरा चामल, २ बोरा चिउरा, १ बोरा आलु तथा १ प्याकेट प्याज गरी कुल पाँच बोरा खाद्यान्न सामग्री प्रदान गरिएको बताइएको छ। त्यसैगरी मृतकका तीन जना बालबालिकाका लागि एक–एक थान कपडा तथा ३ थान चप्पल समेत उपलब्ध गराइएको छ।
स्थानीयका अनुसार मृतकका पति वर्षौँअघि नै बितिसकेका थिए भने एक साताअघि उनकी आमाको पनि निधन भएको हो। परिवारमा तीन छोरी र एक छोरा रहेका छन्। जेठी छोरीको विवाह भइसकेको भए पनि बाँकी तीन जना बालबालिका हाल आफ्नो गाउँ बलुवा छाडेर सुपौलीस्थित नाना–नानीको घरमा बस्न बाध्य भएका छन्।
आर्थिक तथा पारिवारिक संकटमा परेको उक्त परिवारलाई गरिएको सहयोगप्रति स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्। साथै पीडित परिवारलाई थप सहयोगका लागि सरोकारवाला निकाय तथा समाजसेवीहरूलाई समेत आग्रह गरिएको छ।








