२०८३ जेष्ठ १६ गते शनिबार

महँगा होटेलको भान्सामै फोहोर : बिरगंजका ४ तारे होटेलमा खाद्य स्वच्छताको गम्भीर लापरवाही

वीरगञ्जका ठूला तथा महँगा होटलहरूको भान्सामा समेत खाद्य स्वच्छता मापदण्ड पालना नभएको तथ्य पुनः सार्वजनिक भएको छ। उपभोक्ताबाट चर्को शुल्क असुल्ने चर्चित होटलहरूको भान्सामै सरसफाइ, खाद्य भण्डारण तथा स्वस्थकर भोजन व्यवस्थापनमा गम्भीर कमजोरी भेटिएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि प्रश्न उठेको छ।

मंगलवार गरिएको संयुक्त अनुगमनका क्रममा सोल्टि ग्रुप अफ होटलले सञ्चालनमा लिएको गण्डकपारीस्थित पुरानो होटल क्लार्क तथा दीपक श्रेष्ठ सञ्चालक रहेको चर्चित होटल भिस्वाको भान्सामा खाद्य स्वच्छता मापदण्डको न्यूनतम आधारसमेत पालना नभएको पाइएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिएका छन्।

अनुगमन टोलीका अनुसार होटलहरूमा प्रयोग हुने खाद्य सामग्रीको भण्डारण अव्यवस्थित, पकाउने स्थान अस्वच्छ, कर्मचारीको व्यक्तिगत सरसफाइ कमजोर तथा भान्साको समग्र वातावरण स्वास्थ्य मापदण्ड विपरीत रहेको भेटिएको थियो। महँगो शुल्क तिरेर खाना खाने उपभोक्तालाई स्वच्छ र गुणस्तरीय सेवा दिनुपर्ने दायित्वबाट होटल व्यवसायी पन्छिन खोजेको आरोपसमेत लगाइएको छ।

उपभोक्ता अधिकारकर्मी अजय अधिकारीले अनुगमनपछि कडा प्रतिक्रिया दिँदै भने,“आज वीरगञ्जका दुई ठूला नाम चलेका होटलको भान्सामा प्रवेश गर्दा खाद्य स्वच्छता र गुणस्तर कुन चराको नाम हो भन्ने अवस्था देखियो। उपभोक्ताबाट महँगो मूल्य लिने तर स्वच्छ, गुणस्तरीय र स्वस्थकर खाना दिन नसक्ने होटलहरू कसरी ४ तारे र ३ तारे भए ? तारा दिने निकाय पनि जवाफदेही हुनुपर्छ।”

उनले प्रदेशस्तरका नियमनकारी निकायप्रति पनि प्रश्न उठाउँदै थपे,
“खाद्य डिभिजनका साना कर्मचारीले मात्रै प्रयास गरेर पुग्दैन। जनकपुरमा रहेका प्रदेश प्रमुख वरिष्ठ खाद्य वैज्ञानिकले प्रभावकारी अनुगमन र छड्के निरीक्षण गर्नुपर्थ्यो। कागजमै प्रगति प्रतिवेदन पठाएर मात्रै दायित्व पूरा हुँदैन। आजको घटना प्रतिनिधिमूलक मात्रै हो कि वीरगञ्जका अन्य ठूला होटलहरूको अवस्था पनि यस्तै छ भन्ने गम्भीर आशंका पैदा भएको छ।”

अब खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले ती होटललाई कस्तो खाद्य स्वच्छता स्तरको लोगो (स्टिकर) प्रदान गर्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ। विगतमा पनि वीरगञ्जका विभिन्न होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर कमजोरी भेटिँदै आएको भए पनि प्रभावकारी कारवाही नहुँदा व्यवसायीहरू थप लापरवाह बन्दै गएको उपभोक्ताको गुनासो छ।

स्थानीय उपभोक्ताहरूले नियमनकारी निकायमाथि निष्पक्ष र कडा कारवाही गर्न दबाब बढाउनुपर्ने बताएका छन्। “नियम उल्लंघन गर्ने होटललाई चेतावनी मात्र होइन, कानुनी कारवाही हुनुपर्छ,” एक स्थानीय उपभोक्ताले भने, “किनकि यो विषय सीधै जनस्वास्थ्यसँग जोडिएको छ।”

खाद्य स्वच्छता र गुणस्तर कायम गराउने जिम्मेवारी व्यवसायी, नियमनकारी निकाय र उपभोक्ता—तीनै पक्षको साझा दायित्व भएको सरोकारवालाहरूको भनाइ छ। उपभोक्ताले पनि होटलको बाहिरी चमकभन्दा भित्रको सरसफाइबारे सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

वीरगञ्जमा होटल तथा खानाका व्यवसाय तीव्र रूपमा विस्तार भइरहेका बेला खाद्य स्वच्छतामा लापरवाही गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याई उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग अहिले झन् बलियो बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM