२०८३ जेष्ठ १६ गते शनिबार

सामुदायिक प्रहरी कुम्हालटोलद्वारा सनलाइट स्कूलमा साइबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, १३ जेठ

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्वारा सनलाइट स्कूलमा साइबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। प्रहरी–सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा वीरगञ्ज–१९ नगवास्थित सनलाइट स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर अपराधबारे सचेत गराइएको हो।

कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मार्टिन मोक्तानको अध्यक्षता तथा वडा प्रहरी कार्यालय बिर्ताका सहायक प्रहरी निरीक्षक राम बिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्कूलका कोर्डिनेटर रंगराजन चौरसिया, रवि चौरसिया, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सामुदायिक प्रहरीका उपाध्यक्ष सञ्जु दहाल, सल्लाहकार सुशील बर्णवाल, प्रहरी जवान रेणु राय यादव र सुरज सिंहसहित शिक्षक तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक सप्रनि यादवले साइबर अपराधका विभिन्न स्वरूपबारे जानकारी दिँदै यस्ता अपराधले शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा ठूलो क्षति पुर्‍याउने बताए। उनले साइबर ठगी, मानसिक यातना, ब्ल्याकमेलजस्ता घटनाले कतिपय अवस्थामा आत्महत्यासम्म गर्न बाध्य बनाउने उल्लेख गर्दै समयमै सचेत रहन र परिवार तथा समाजलाई पनि सतर्क गराउन आग्रह गरे।

उनले वृत्तचित्र, विभिन्न तस्वीर तथा सन्देशमूलक नारामार्फत साइबर अपराध र त्यससँग सम्बन्धित कानुनी सजायबारे विस्तृत जानकारी दिएका थिए। साथै विद्यार्थीहरूले राखेका जिज्ञासाको समेत जवाफ दिएका थिए।
कार्यक्रमका अध्यक्ष तथा सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मार्टिन मोक्तानले साइबर अपराधले लोभ र प्रलोभनमार्फत मानिसलाई आफ्नो जालमा पारेर जीवन नै बर्बाद गर्ने भएकाले यसबाट बच्न सबै सचेत हुनुपर्ने बताए। उनले वडा प्रहरी कार्यालय बिर्ता, प्रशिक्षक सप्रनि यादव, अतिथिहरू तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे।

विद्यालयका कोर्डिनेटर चौरसियाले विद्यार्थीहरूलाई साइबर अपराधजस्तो गम्भीर सामाजिक तथा मानसिक समस्याप्रति सचेत बनाउने कार्य अत्यन्त सराहनीय रहेको बताउँदै वडा प्रहरी कार्यालय बिर्ता र सप्रनि यादवप्रति आभार व्यक्त गरे।

कार्यक्रमअन्तर्गत साइबर अपराध विषयक संक्षिप्त प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा कृष्ण कुशवाहा प्रथम भएका थिए। विजेतालाई प्रमुख अतिथि यादवले खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार तथा कार्यक्रम अध्यक्ष मोक्तानले राखेका थिए भने सञ्चालन सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए। विद्यालयका सह–कोर्डिनेटर शिक्षक रेडम बनियाँले प्रमुख अतिथिलगायत अन्य अतिथिहरूलाई खादा तथा मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM