२०८३ जेष्ठ १६ गते शनिबार

अनुमति बिना भवन सारिएको आरोप, वीरगञ्ज–११ श्रीपुरको ओशिश मावि विवादमा

अभिलाष गुप्ता
वीरगञ्ज, १५ जेठ

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा सञ्चालित ओशिश माध्यमिक विद्यालय (मावि) नयाँ भवनबाट सञ्चालनमा आएपछि विवाद उत्पन्न भएको छ। विद्यालयले महानगरपालिकाको स्वीकृति बिना स्थानान्तरण गरी नयाँ भवनबाट पठनपाठन सुरु गरेको आरोप स्थानीयवासीले लगाएका छन्।

यसअघि सोही वडाको गणेश मन्दिरदेखि दक्षिणतर्फ अशोक भट्टराईको घर भाडामा लिएर सञ्चालन हुँदै आएको विद्यालयले यस शैक्षिक सत्रदेखि आफ्नै नयाँ भवनबाट कक्षा सञ्चालन थालेपछि स्थानीय स्तरमा असन्तोष देखिएको हो।

स्थानीयवासीका अनुसार विद्यालय सञ्चालनका कारण ध्वनि प्रदूषण, भीडभाड बढेको तथा आसपासका घरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र सर्वसाधारणलाई समस्या भएको छ। सोही विषयलाई लिएर चार किल्लाभित्रका स्थानीयले जिल्ला प्रशासन कार्यालय तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक महाशाखामा लिखित उजुरी दिएका छन्।

उजुरीपछि महानगरपालिकाको शैक्षिक महाशाखाले विद्यालयसँग सम्पत्तिकर तिरेको रसिदसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। तर विद्यालय प्रशासनले हालसम्म कुनै लिखित जवाफ नदिएको शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन्।

उनका अनुसार विद्यालयको अवस्थाबारे स्थलगत अनुगमनका लागि दुई जना कर्मचारी खटाइएको छ। अनुगमन प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया तथा कानुनी कारबाही अघि बढाइने महानगरले जनाएको छ।

स्रोतका अनुसार विद्यालय सञ्चालन भइरहेको भवन नक्शापास बिना निर्माण गरिएको दाबी समेत गरिएको छ। साथै, एक स्थानबाट अर्को स्थानमा विद्यालय सार्न महानगरपालिकाको पूर्वस्वीकृति अनिवार्य भए पनि ओशिश माविले आवश्यक प्रक्रिया पूरा नगरेको आरोप स्थानीयवासीले लगाएका छन्।

स्थानीय अजय पटेलका अनुसार भवन निर्माणको प्रारम्भिक चरणमै छिमेकी ज्ञानदेवी गुभाजुले करिब एक दशकअघि उच्च अदालतमा निषेधाज्ञाको मुद्दा दायर गरेकी थिइन्। त्यसबेला विद्यालय सञ्चालिका सुनीता साहले भवन आवासीय प्रयोजनका लागि निर्माण भइरहेको भन्दै अदालतमा लिखित प्रतिउत्तर दिएकी थिइन्। सोही आधारमा अदालतले तत्काल निषेधाज्ञा जारी नगरेको बताइएको छ।

तर हाल सोही भवनमा विद्यालय सञ्चालन भएपछि पुनः कानुनी प्रक्रिया अघि बढाइएको स्थानीयवासीको भनाइ छ। स्थानीयले महानगरपालिकाले यस्ता गतिविधिमा संलग्न विद्यालयमाथि यसअघि तालाबन्दी तथा जरिवाना गर्दै आएको स्मरण गराउँदै अहिले प्रमाणसहित उजुरी दिँदा पनि कारबाहीमा ढिलाइ भएको आरोप लगाएका छन्।

स्थानीयवासीले विद्यालय सञ्चालन अनुमति, स्थानान्तरण स्वीकृति तथा नक्शापाससम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा नभएसम्म महानगरपालिकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM