अभिलाष गुप्ता
जनकपुरधाम, १५ जेठ

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माण कार्य सुरु भएको छ। गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवनको शिलान्यास गरिएको हो।
मधेश प्रदेश सरकारका फकिरा महतो ले भवनको शिलान्यास गर्दै पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई आधुनिक तथा सुविधा सम्पन्न भवनका रूपमा निर्माण गरिने बताएका छन्। उनले महासंघका पदाधिकारी, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरेर आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै श्याम बन्जारा ले अग्रज पत्रकारहरूले देखेको सपना अब साकार हुने चरणमा पुगेको बताए। उनले नेपालमै पहिलोपटक नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण हुन लागेको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे।
अध्यक्ष बन्जाराले महासंघको निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण कार्य अघि बढाइएको बताए। उनले पर्सामा नेपाल पत्रकार महासंघको दुईतले भवन निर्माण गरेजस्तै मधेश प्रदेशको पनि आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता पूरा भएको उल्लेख गरे।
उनले भने, “अग्रजहरूले देखेको सपना पूरा गर्ने काम सुरु भएको छ। नेपालमै पहिलोपटक मधेश प्रदेशको आफ्नै भवन बनाउने सपना आज साकार भएको छ। निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार भवन निर्माणको काम अघि बढाइएको हो। अब छिट्टै आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण हुनेछ।”
कार्यक्रममा केसी लामिछाने, राम भरत, राजेश कर्ण, जितेन्द्र सिंह खड्का, बन्दना झा तथा अजय साह लगायत महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
महासंघका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको छ। कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतो ले गरेका थिए।








