वीरगन्ज, १५ जेठ
राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा ‘हिन्दू राष्ट्र र संविधान संशोधनको बहस’ विषयक विचार गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
दलका पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान संविधानले देशको पहिचान र बहुसंख्यक जनताको भावनालाई समेट्न नसकेको भन्दै अविलम्ब संविधान संशोधन गरी नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गरिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा आफ्नो धारणा राख्दै दलका नेताहरू अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी र रवीन्द्र यादव लगायतले देशको दिगो शान्ति र सांस्कृतिक पहिचान रक्षाका लागि हिन्दू राष्ट्र अपरिहार्य रहेको चर्चा गर्नुभयो।
राष्ट्रिय एकता दलका युवा नेता विवेक कुशवाहाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।









